३० बैशाख — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि कुनै हस्तक्षेप नगरेको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकप्रति समाजका केही वर्गले गलत अर्थ लगाएको टिप्पणी गरे।
युगआह्वान राष्ट्रिय दैनिकको २५औँ रजतजयन्तीका अवसरमा मंगलबार सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताका नाममा अराजकता र अनुशासनहीनता बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
“हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता र अनुशासनहीनता फैलिएको छ,” मन्त्री गुरुङले भने, “यसलाई नियमन गर्न आवश्यक विधेयक ल्याउने तयारीमा छौँ।”
उनका अनुसार सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयार भइरहेको छ र सो विधेयक छिट्टै पारित गरिनेछ। अनलाइन माध्यमको अत्यधिक प्रयोगका कारण साइबर अपराध बढेको उल्लेख गर्दै उनले हालसम्म ४० हजारभन्दा बढी उजुरी दर्ता भइसकेको जानकारी दिए।
मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यम वा व्यक्तिले जातीय, धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्याउने खालका गतिविधि गर्न नहुनेमा जोड दिए। उनले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरी समाजमा भ्रम फैलाउन नदिन चेतावनी पनि दिए।
