वासिंगटन डिसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरेबियाको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पको यो पहिलो विदेश भ्रमण हो। यसअघि उनी अप्रिल २६ मा पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन भ्याटिकन सिटी गएका थिए।
राष्ट्रपति ट्रम्पले मे १३ मा साउदी राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनी मे १४ मा कतारमा आयोजना हुने खाडी राष्ट्रहरूको शिखर सम्मेलनमा सहभागी हुनेछन् भने मे १५ मा युएईको भ्रमण गर्दै भ्रमण सम्पन्न गर्नेछन्।
परम्परागत रूपमा अमेरिकी राष्ट्रपतिहरू पहिलो विदेश भ्रमणमा क्यानडा, मेक्सिको वा कुनै युरोपेली देश जाने गर्छन्। तर ट्रम्पले सन् २०१७ मा पहिलो कार्यकालको आरम्भमै साउदी अरेबिया भ्रमण गरी त्यो परम्परा तोडेका थिए।
दोस्रो कार्यकालको सुरुवातमा ट्रम्पले पहिलोपटक साउदी युवराज एमबीएसलाई अमेरिकामा स्वागत गरेका थिए। त्यस भेटमा दुई नेताबीच मध्यपूर्वमा स्थायित्व कायम गर्ने, क्षेत्रीय सुरक्षा सुदृढ पार्ने र आतंकवादविरुद्ध संयुक्त प्रयासबारे चर्चा भएको थियो।
त्यसपछि साउदी सरकारले अमेरिकामा आगामी चार वर्षभित्र ६०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। राष्ट्रपति ट्रम्पले भने उक्त लगानीलाई १ ट्रिलियन डलरसम्म पुर्याउने लक्ष्य राखेको बताएका छन्, जसमा अमेरिकी सैन्य उपकरण खरिद समेत समावेश गरिएको छ। साउदीको सार्वभौम सम्पत्ति कोष (पब्लिक इन्भेस्टमेन्ट फण्ड – पीआईएफ) मा हाल ९२५ अर्ब डलरभन्दा बढी रकम रहेको जनाइएको छ।
पीआईएफमार्फत साउदीले अमेरिका लगायत विश्वका विभिन्न क्षेत्रमा व्यापक लगानी गरिसकेको छ। यस्तै, युएईले पनि कृत्रिम बौद्धिकता (एआई), सेमिकन्डक्टर, ऊर्जा र पूर्वाधार क्षेत्रमा आगामी १० वर्षमा १.४ ट्रिलियन डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा साउदी अरेबियालगायत खाडी मुलुकहरूसँग मजबुत कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए। पदबाट बाहिरिएपछि पनि साउदीले ट्रम्पका ज्वाइँ र तत्कालीन वरिष्ठ सल्लाहकार जारेड कुशनरको फर्ममा २ अर्ब डलर लगानी गरेको थियो।
यसैबीच, कतारले राष्ट्रपति ट्रम्पलाई ५५ अर्ब डलर मूल्य बराबरको विशेष जेट विमान उपहारस्वरूप प्रदान गर्ने तयारी गरेको बताइएको छ।
सन् २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्यापछि अमेरिका–साउदी सम्बन्ध तनावपूर्ण बनेको थियो। तर त्यस क्रममा पनि कुशनरले सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको विभिन्न रिपोर्टहरूमा उल्लेख छ।
राष्ट्रपति ट्रम्पले यो भ्रमण यस्तो समयमा गरेका छन्, जब उनको ट्यारिफ नीति र व्यापार युद्धका कारण विश्वव्यापी बजारमा अस्थिरता देखिएको छ। हालै सार्वजनिक भएको तथ्याङ्क अनुसार अमेरिकाको आर्थिक उत्पादन यस वर्षको पहिलो त्रैमासमा घटेको छ, जुन पछिल्ला तीन वर्षयता पहिलो गिरावट हो।
