सोमबार रातिको अविरल वर्षापछि आएको बाढीले काभ्रेको माप्तीस्थित रोशी खोलाको डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग खुलाउने प्रयास गए रातिदेखि नै जारी छ।
राति बाढीले रोशी गाउँपालिका–१२ स्थित मंगलटारतर्फको सडक थप क्षति पु¥याएपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले एकतर्फी रूपमा भए पनि सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए।
गत असोजको बाढीले सो स्थानमा क्षति पुर्याएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा अलपत्र परेका १७ यात्रुहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसोको वर्षापछि आएको बाढीमा पनौती नगरपालिका–५ स्थित सुब्बागाउँकी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन्। साँझ ६ बजेतिर मेला सकेर घर फर्कने क्रममा ढलमले खोलाले उनलाई बगाएको थियो।
घटनापछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा रातिसम्म खोजी गरिएको थियो। तर, अन्धकार र बढ्दो पानीको बहावका कारण खोजी स्थगित गरिएको थियो। आज बिहानदेखि पुनः खोजी सुरु गरिएको प्रहरी नायब उपरीक्षक घलेले बताए।
