आज:  | Tue, 21, Apr, 2026

भारत र पाकिस्तान लडाइँ नहोस् भन्ने हाम्रो कामना सफल भयो: प्रधानमन्त्री ओली

Avatar photo दिशा निर्देश २९ बैशाख २०८२, सोमबार १४:३८ मा प्रकाशित (११ महिना अघि)

 २९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र पाकिस्तानबीच हालै उत्पन्न तनावपूर्ण परिस्थितिबारे नेपालले चासो व्यक्त गरेको बताएका छन्। उनले सम्भावित लडाइँको जोखिम न्यूनीकरण गर्न दुबै देशलाई संयमता अपनाउन सुझाव दिइएको स्पष्ट पारेका छन्।

लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्तीको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “केही दिनअघि हाम्रो छिमेकमै भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति सिर्जना भयो। तर, त्यो लडाइँमा परिणत भएन, संयमता अपनाएकोमा उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।”

उनका अनुसार नेपालले सुरुबाटै दुई देशलाई तनाव विस्तार हुन नदिन आग्रह गर्दै शान्ति कायम राख्न आग्रह गरेको थियो। “हामीले चाह्यौं कि यो अवस्था लडाइँमा नपुगोस्। त्यसअनुसार कुराकानी पनि भयो र दुबै पक्षले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो,” प्रधानमन्त्रीले बताए।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्न नेपाल सरकार कटिबद्ध रहेको बताए। उनले भने, “बुद्धका शान्ति, करुणा र प्रेमका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्। ती सन्देशहरू व्यक्ति, समाज, राष्ट्र र विश्व शान्तिका लागि मार्गदर्शक हुन्।”

प्रधानमन्त्रीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका शिक्षामाथि थप खोज, अनुसन्धान र प्रचार-प्रसारमा सक्रिय हुन आह्वान गरे। साथै, लुम्बिनीको गुरुयोजना अन्तर्गतका कार्यहरू यथासक्य चाँडो सम्पन्न गर्न सरकार गम्भीर रहेको पनि बताए।


सम्बन्धित खबरहरु