काठमाण्डौ २९ वैशाख — भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत कोहलीले आफ्नो १४ वर्ष लामो टेस्ट करिअरलाई विदा दिएको घोषणा गरेका हुन्।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई एक महिनाअघि नै संन्यासको तयारीबारे जानकारी गराएका कोहलीले अन्ततः इंग्ल्यान्डविरुद्धको पाँच म्याचको टेस्ट सिरिजअघि संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। इंग्ल्यान्डविरुद्धको सिरिज आगामी जुन २० बाट सुरु हुँदैछ।
कोहलीले यसअघि नै टी–२० क्रिकेटबाट सन्यास लिइसकेका छन् भने अब भारतका लागि उनी केवल एकदिवसीय क्रिकेटमै उपलब्ध हुनेछन्। टेस्ट टोली व्यवस्थापन र छनोट समितिले उनको अनुभव इंग्ल्यान्डविरुद्ध महत्त्वपूर्ण हुने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि कोहली अडिग रहे।
रोहित शर्माले हालै टेस्ट क्रिकेटबाट संन्यास लिएको र रविचन्द्रन अश्विनले अष्ट्रेलियाविरुद्धको सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेट छाडेको अवस्थामा कोहलीको विदाइले भारतीय टेस्ट टोलीमा व्यापक परिवर्तनको संकेत गरेको छ।
कोहलीले १४ वर्ष लामो टेस्ट करिअरमा १२३ खेलमा ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्, जसमा ३० शतक सामेल छन्। उनले ६८ टेस्टमा भारतको कप्तानी समेत गरेका थिए।
तर पछिल्लो समय उनको फर्म कमजोर देखिएको थियो। २०२४–२५ मा अष्ट्रेलियाविरुद्धको बार्डर–गावास्कर ट्रफीमा उनले पाँच टेस्टमा जम्मा १९० रन मात्र बनाउन सके, जसमा पर्थमा एक शतक थियो। बाँकी चार खेलमा उनको प्रदर्शन निराशाजनक रह्यो। त्यस्तै, न्यूजिल्यान्डविरुद्धको घरेलु सिरिजमा पनि उनको प्रदर्शन कमजोर रह्यो।
कोहली र रोहितको संन्यासपछि भारतले टेस्ट टोलीको पुनर्संरचना गर्नु पर्नेछ। इंग्ल्यान्डविरुद्धको सिरिजका लागि केएल राहुल, शुभमन गिल, यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता युवा खेलाडीमाथि टोलीले भर पर्ने अपेक्षा गरिएको छ। साथै, टोलीको नयाँ कप्तानको घोषणा पनि चाँडै हुने सम्भावना छ।
