काठमाण्डौ २९, वैशाख — बार्सिलोना महिला फुटबल टोलीले रियल बेटिसमाथि ९–० को प्रचण्ड जित निकाल्दै लगातार छैटौँ पटक स्पेनिस महिला लिग (प्रिमेरा डिभिजन) को उपाधि जितेको छ।
यो जितसँगै बार्सिलोनाले एक खेल अगावै लिगको उपाधि सुनिश्चित गरेको हो। यो बार्सिलोनाको कुल १०औं लिग उपाधि हो।
चालु सिजनमा बार्सिलोनाले २७ खेल जितेको छ भने केवल दुई खेलमा मात्र हार बेहोरेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिड बार्सिलोनाभन्दा ६ अंकले पछि परेको छ।
यस सिजनमा बार्सिलोनाले दोस्रो उपाधि जितेको हो। यसअघि उसले जनवरीमा स्पेनिस सुपर कप जितेको थियो।
अब बार्सिलोना महिला टोलीले मे २४ मा महिला च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि जुन ७ मा कोपा डे ला रेइनाको फाइनलमा एथ्लेटिको मड्रिडसँग खेल्ने तालिका रहेको छ।
