वीरगन्ज २९ पर्सा — पर्सामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ बेलहिया घर भई हाल वीरगञ्ज महानगरपालिका–१३ बसोबास गर्दै आएका ५० वर्षीय दिनानाथ साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार २०८२ साल वैशाख २७ गते राति करिब १:४५ बजे साहसहित दुई जनाले मिलेर महिलालाई एक्लो अवस्थामा पारी मुख थुनी बलात्कार गरेका थिए। पीडित पक्षबाट दिइएको जाहेरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको हो।
साहलाई वैशाख २८ गते पक्राउ गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अर्का ४० वर्षीय फरार व्यक्तिको पहिचान भइसकेको र हाल उनलाई पक्राउ गर्न खोजी कार्य जारी रहेको डीएसपी लम्सालले जानकारी दिए।
