वीरगञ्ज, २९ वैशाख – २०५औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघ, पर्साले नारायणी अस्पतालमा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ।
सोमबार अस्पताल परिसरमा दीप प्रज्वलन गरेर सुरु गरिएको कार्यक्रममा विभिन्न वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।
संघका अनुसार प्रसूति विभाग, सर्जिकल वार्ड र पिआइसियु गरी ६० भन्दा बढी बिरामीलाई फलफूल प्रदान गरिएको हो।
नेपाल नर्सिङ संघ, पर्साकी अध्यक्ष डा. कल्पना पौडेलको अध्यक्षता तथा नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वीरगञ्ज–४ का वडा अध्यक्ष जगदीश प्रसाद साह, अस्पतालका नर्सहरू हेमा थापा, श्रुती साह, रामनरेश कुशवाहा, पशुपति जयसवाल, कमला ढकाल, शर्मिला महर्जन, शुभद्रा चौधरी र रुबी साह लगायतको उपस्थिति रहेको थियो।
