काठमाडौं २८ बैशाख : गभर्नर चयन समिति सदस्य विश्व पौडेलले पदबाट राजीनामा दिने भएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच उनलाई नयाँ गभर्नरका रूपमा सिफारिस गर्ने सहमति बनेसँगै उनले समितिबाट राजीनामा दिन लागेका हुन्।
पौडेलले मौखिक रूपमा अर्थ मन्त्रालयलाई यसबारे जानकारी गराइसकेको बताए। उनले सोमबार कार्यालय समयपछि लिखित राजीनामा बुझाउने तयारी रहेको जानकारी पनि दिएका छन्। “सिफारिस भएको मान्छेले त राजीनामा दिनै पर्यो। भोलि कार्यालय समयमा राजीनामा पत्र बुझाउने छु,” पौडेलले भने।
यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि गभर्नर बन्ने उद्देश्यले राजीनामा दिएका थिए। तर, लामो समयसम्म पनि उनको राजीनामा स्वीकृत नभएपछि सत्तारूढ दलले नयाँ व्यक्तिको नाम सिफारिस गर्ने तयारी गरेको हो।
