वैशाख, २८काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा क्रियाशील संयुक्त जनआन्दोलन समितिले आउँदो जेठ १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको प्रदर्शनमा उपत्यका बाहिरका जनतालाई समेत सहभागी हुन आह्वान गरेको छ।
आइतबार समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले उक्त आन्दोलनमा देशभरका नागरिकको सहभागिता सुनिश्चित गर्न उपत्यकाबाहिरका जनतालाई काठमाडौं आउन आग्रह गर्ने निर्णय गरेको हो।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति रहेको थियो।
समितिले यसअघि नै जेठ १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ। आइतबारको बैठकले सोही आन्दोलनलाई सफल बनाउन आवश्यक तयारी र कार्यक्रम तय गरेको जनाइएको छ।
‘जेठ १५ गतेको आन्दोलनमा काठमाडौं उपत्यकाबाहिरका जनता, काठमाडौंवासी तथा सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
समितिले आन्दोलन पूर्णतः शान्तिपूर्ण ढंगले सञ्चालन गरिने स्पष्ट पारेको छ।
