वैशाख,२८ काठमाडौं : वार्षिक नीति तथा कार्यक्रम पारित भएपछि संघीय संसद्मा आजैदेखि प्री–बजेट छलफल सुरु हुने भएको छ।
आइतबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको संयुक्त बैठकमार्फत प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलपछि उठेका जिज्ञासाहरूको जवाफ आज प्रधानमन्त्रीले दिने तयारी गरिएको हो।
प्रधानमन्त्रीको जवाफपश्चात वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल प्रारम्भ हुनेछ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट (विनियोजन विधेयक) का सिद्धान्त र प्राथमिकतामाथि कर प्रस्तावबाहेकको पक्षमा छलफल अगाडि बढाउन प्रस्ताव पेश गर्नुहुनेछ। यो छलफललाई बजेट अघि गरिने प्रारम्भिक बहस अर्थात् ‘प्री–बजेट’ छलफलका रूपमा लिइन्छ।
