वीरगञ्ज २८ पर्सा : नेपालमै पहिलोपटक माछापालनका लागि प्रयोग हुने ‘फिस इन्क्युवेटर’ र ‘अक्सिजन एरिएसन मिक्सिङ टावर’ को निर्माण पर्साको वीरगन्जस्थित राष्ट्रिय आविष्कार केन्द्रको कृषि औजार कारखानाले गरेको छ।
यी उपकरणहरूमध्ये फिस इन्क्युवेटरले माछाको अण्डाबाट भुरा उत्पादन गर्न सहयोग गर्छ भने मिक्सिङ टावरले पानी र अक्सिजनलाई मिसाएर मत्स्य पालनका लागि उपयुक्त वातावरण तयार पार्छ।
केन्द्रका प्रमुख इन्जिनियर रितेश देवका अनुसार, यस्ता प्रविधि नेपालमा यसअघि न उत्पादन भएका थिए न त सहजै पाइन्थे। ‘माछा पालक किसानलाई यस्ता उपकरण भारत वा चीनबाट आयात गर्नु पर्ने बाध्यता थियो,’ उनले भने, ‘अब स्वदेशमै उत्पादन हुन थालेपछि किसानको लागत घट्नेछ र प्रविधिमा पहुँच बढ्नेछ।’
केन्द्रले आविष्कार गरेका यी दुवै उपकरणहरू दुई साता अघि लुथरन वर्ल्ड रिलिफ नेपाल संस्थामार्फत बारा दोदरपाका एक किसानलाई हस्तान्तरण गरिएको देवले जानकारी दिए। उनका अनुसार, लुथरनले केन्द्रसँग १६/१६ वटा गरी ३२ उपकरण निर्माणको अर्डर गरिसकेको छ।
फिस इन्क्युवेटरको मूल्य १ लाख १० हजार रुपैयाँ र अक्सिजन मिक्सिङ टावरको मूल्य ४० हजार रुपैयाँ तोकिएको छ। भारत वा तेस्रो मुलुकबाट आयात गर्दा भन्सार शुल्क र ढुवानी लागत समेत जोडिँदा मूल्य महँगो पर्ने भएकाले यस्ता उपकरण स्वदेशमै सस्तो र सजिलो हुने इन्जिनियर देवको भनाइ छ।
कृषि औजार कारखानाले यी उपकरणहरू स्टेनलेस स्टिल, फलाम र पाइपजस्ता सामग्री प्रयोग गरेर निर्माण गरेको हो। लुथरन संस्थाले बाराको सिमरामा कार्यालय स्थापना गरी मत्स्यपालनमा नयाँ प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ।
