काठमाण्डौ २८ बैशाख : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे, भने राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।
आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। यसपटक एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रतिनिधि सभामा वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ।
यस्तै, राष्ट्रिय सभाको आजको सम्भावित कार्यसूचीमा पनि प्रधानमन्त्री ओलीको जवाफ र त्यसपछि नीति तथा कार्यक्रममाथिका संशोधन प्रस्तावमाथि निर्णय समावेश गरिएको छ। राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफलका लागि प्रस्ताव पेस गरिने तयारी गरिएको छ।
यसैबीच, सत्तारुढ नेकपा एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सांसदहरूलाई मतदानमा सहभागी भई पार्टीको निर्णयअनुसार मत दिन निर्देशन दिनुभएको हो।
