वैशाख,२७ काठमाडौं । भारत र पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका हुन्।
पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसहाक डार र भारतका विदेशसचिव विक्रम मिश्रिले छुट्टाछुट्टै वक्तव्यमार्फत युद्धविरामको सहमति भएको पुष्टि गरेका हुन्।
भारतका विदेशसचिव मिश्रिका अनुसार, पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डिजीएमओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोन संवाद गरी युद्धविरामको सहमति जनाएका थिए।
छोटो प्रेस वक्तव्यमा मिश्रिले भनेका छन्, “दुवै पक्षबीच भारतीय समय अनुसार आज साँझ ५ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ।”
दुवै देशका डिजीएमओहरूलाई सहमति कार्यान्वयनका लागि निर्देशन दिइसकिएको छ। साथै, मे १२ का दिन दिउँसो १२ बजे पुनः संवाद हुने जानकारी पनि दिइएको छ।
पाकिस्तानका उपप्रधानमन्त्री डारले जियो टेलिभिजनसँग कुरा गर्दै यो कुनै आंशिक समझदारी नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारे। उनले यो सम्झौतापछि भारत–पाकिस्तानबीचको सैन्य संवाद तथा हटलाइन प्रणाली पनि पुनः सक्रिय गरिएको जानकारी दिए।
