वीरगन्ज, बैशाख २७ — वीरगन्ज महानगरपालिका–१६, नगवामा ओभरहेड खानेपानी ट्यांकीको निर्माण सुरु भएको छ। करिब ४ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो ट्यांकीको शिलान्यास शनिबार संघीय खानेपानी मन्त्री प्रदीप यादवले गरेका हुन्।
४५० घनमिटर क्षमताको यो ट्यांकी खानेपानी मन्त्रालयको ‘नगवा खानेपानी योजना’ अन्तर्गत निर्माण हुन लागेको हो।
शिलान्यास कार्यक्रममा मन्त्री यादवले ट्यांकी निर्माणपछि स्थानीयवासीलाई शुद्ध, सुरक्षित र नियमित खानेपानी उपलब्ध हुने विश्वास व्यक्त गरे। “खानेपानीजस्तो आधारभूत सेवा सबै नागरिकसम्म पुर्याउनु सरकारको दायित्व हो,” मन्त्री यादवले भने, “यो आयोजना तोकिएको समयमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु।”
कार्यक्रममा वीरगन्ज महानगरका मेयर तथा नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य राजेशमान सिंहले वडा नं. १६ का बासिन्दालाई अब सहज रुपमा खानेपानी उपलब्ध हुने बताए। उनले आयोजनालाई अघि बढाउने पहल गरेकोमा मन्त्री यादवलाई धन्यवाद दिए।
वडा सदस्य लवंगी देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, जसपा पर्साका अध्यक्ष सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपाका केन्द्रीय सदस्यहरू पुरषोत्तमलाल झा, मधुमाया यादव, संघीय परिषद सदस्य असलम आलम, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, वीरगन्ज–१५ का वडाध्यक्ष रमेश यादव लगायतको उपस्थिति थियो।
