पोखरिया, पर्सा — आजाद मदरसा तालिमुल कुरान पोखरिया, पर्साले पोखरिया नगरपालिका–४ स्थित परिसरमा दुई दिने पहला दौरे इज्लास-ए-त्तम इस्लाह-ए-मोआशरा तथा दस्तारबन्दी अराकिने जल्सा सुरू भएको छ। कार्यक्रममा नेपाल तथा भारतका ख्यातिप्राप्त इस्लामिक विद्वान, चतुर्वेद शास्त्रज्ञ तथा धर्मगुरुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दुई दिनसम्म चलेको यस धार्मिक तथा सामाजिक सुधार मूलक जल्सामा सहभागी वक्ताहरूले इस्लामी धर्मग्रन्थ कुरान तथा हिन्दू धर्मका चार वटै वेदहरूको सन्देश प्रस्तुत गर्दै आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताका विषयमा प्रकाश पारेका थिए।
कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गमलामा पानी हालेर शुभारम्भ गरेका थिए। विशिष्ट अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले उद्घाटन सत्रमा मन्तव्य राख्दै भने, “हामी एउटै समाजका सदस्य हौं। यहाँ कुनै जात, धर्म वा समुदायको भेदभाव हुनुहुन्न। पर्व र चाडबाडमा हामी सबै एकजुट भई उत्साहपूर्वक सहभागी हुन्छौं। यस्ता कार्यक्रमहरूले समाजमा भाइचारा र सद्भावको सन्देश दिन्छन्।”
कार्यक्रममा पूर्व सांसदहरू हरिनारायण रौनियार तथा रामेश्वर रौनियार, पोखरिया नगर प्रमुख प्रद्युम्न प्रसाद चौहान, उप–मेयर रुबी कुमारी ठाकुर, पूर्व मेयर दीप नारायण रौनियार, निजामोद्दिन समानी लगायतको उपस्थिति रहेको थियो।
अतिथिहरूमध्ये वीरगंज–२ छपकैयाका वडा अध्यक्ष रेयाज मियाँ, नेपाली कांग्रेसका श्रीकुशन चौहान, सकीम मियाँ, आशा चौहान, वडा अध्यक्ष लक्ष्मण साह कानु, नौसाद आलम, सोनालाल साह गोढ़, लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता खैरुल्लाह मियाँले गरेका थिए भने संचालन गनी अन्सारीले गरेका थिए। कार्यक्रमबारे जानकारी वीरगंज महानगरपालिकाका उप–प्रमुखका प्रेस सल्लाहकार मोहम्मद सदाबले दिएका हुन्।
