वैशाख २५ काठमाडौं — भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएको छ। सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा १,८४४ वटा चेकप्वाइन्ट स्थापना गरेको छ भने सयौँ पटक गस्ती सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार, मंगलबार बिहानदेखि बिहीबार बिहानसम्मको ४८ घण्टाको अवधिमा भारतीय सशस्त्र सीमा बल (SSB) सँग समन्वयमा ८४ वटा संयुक्त र २२८ वटा एकल गस्ती गरिएको छ।
उनका अनुसार: मंगलबार २० वटा संयुक्त र ८९ वटा एकल गस्ती, बुधबार १६ वटा संयुक्त र ६४ वटा एकल गस्ती र बिहीबार ४८ वटा संयुक्त र ७५ वटा एकल गस्ती भएका छन्।सीमा क्षेत्रका सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनीहरू — नं. १ बराह (सुनसरी), नं. २ छिन्नमस्ता (महोत्तरी), नं. ३ गढीमाई (मकवानपुर), नं. ४ मुक्तिनाथ (कास्की), नं. ५ विन्ध्यवासिनी (रुपन्देही) र नं. ७ वैद्यनाथ (कैलाली) अन्तर्गत १० हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको डिएसपी थापाले बताए।सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गर्दै निगरानी तीव्र बनाएको छ।
तर, परम्परागत रूपमा चल्दै आएको नेपाल–भारत सीमाको स्थानीय आवतजावतलाई सहज बनाउनेतर्फ पनि संवेदनशीलता अपनाइएको डिएसपी थापाले बताए। सहरी क्षेत्रमा समेत सम्भावित संवेदनशील स्थानहरूमा सुरक्षाको निगरानी बढाइएको छ।
