वीरगंज — वीरगंज महानगरपालिका र यहाँका घरधनीहरूबीच बहाल करसम्बन्धी महत्वपूर्ण छलफल बुधबार सम्पन्न भएको छ। महानगर प्रमुख राजेशमान सिंहको संयोजनमा सम्पन्न उक्त बैठकमा घरधनीहरूले कानुनी रूपमा बहाल कर तिर्ने जिम्मेवारी स्वीकार गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
छलफलमा बोल्दै प्रमुख सिंहले कर तिर्ने अभ्यासलाई जिम्मेवार नागरिकताको परिचायकको रूपमा व्याख्या गर्दै पारदर्शी, कानुनी र समावेशी ढंगले कर प्रणाली कार्यान्वयन गर्ने महानगरको प्रतिबद्धता दोहोर्याए। उनले सबै घरधनीलाई करप्रति सचेत रहन र सहकार्यको भावनासहित अघि बढ्न आग्रह गरे।
बैठकमा घर बहाल करसम्बन्धी उठेका प्रमाण तथा कागजातहरूको स्थलगत अनुगमन गर्न राजस्व शाखा र नक्सा शाखाले संयुक्त टोली गठन गर्ने निर्णय भएको छ। उक्त टोलीले भौतिक निरीक्षणमार्फत बहालमा रहेका सम्पत्तिको अभिलेख अद्यावधिक गर्नेछ। यदि नक्सा विपरीत संरचना फेला परेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आवश्यक कारबाही गरिने पनि स्पष्ट गरिएको छ।
महानगरले पटक–पटक पत्राचार गर्दा पनि छलफलमा अनुपस्थित हुने र कानुनी दायरामा आउन आनाकानी गर्ने सम्पत्तिधनीहरूमाथि पहिलो चरणमा सेवा सुविधा बन्द गरिने चेतावनी दिइएको छ। साथै, यस्ता घरधनीहरूसम्बन्धी जानकारी अन्य सार्वजनिक सेवा प्रदायक निकायहरूलाई समेत दिइने र सेवा रोक्न अनुरोध गरिने महानगरले जनाएको छ।
छलफलमा अनुपस्थित रहेका घरजग्गा धनीहरूलाई अन्तिम पटक ४८ घण्टे सूचना दिइने निर्णय पनि बैठकमा गरिएको छ। राजस्व महाशाखा प्रमुख मनोज कुमार कर्णका अनुसार उक्त अवधिभित्र सबुत प्रमाणसहित महानगरमा उपस्थित भई प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
महानगरले स्पष्ट पारेअनुसार, बहाल कर तिर्ने जिम्मेवारी घरधनीको हुने भएकाले अबदेखि सम्पत्ति भाडामा दिने प्रक्रियामा करसम्बन्धी प्रावधान स्पष्ट उल्लेख गरिनुपर्नेछ। साथै, भाडामा बस्ने व्यक्तिले हरेक महिनाको बहाल बुझाउँदा अघिल्लो महिनाको कर बुझाइएको हो वा होइन भन्ने विवरण पनि राख्नुपर्नेछ, जसबाट पारदर्शिता कायम हुने र कर संकलन प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
बुधबार पहिलो चरणमा घण्टाघर लिंकरोड क्षेत्रका घरधनीहरूसँग छलफल गरिएको हो। छलफलमा शंकर प्रसाद जयसवाल, संजय प्रसाद साह, गिरिस प्रसाद सिंहलगायतका घरधनीहरूको सहभागिता रहेको थियो। उनीहरूले महानगरको प्रयासको स्वागत गर्दै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
महानगरको तर्फबाट राजस्व महाशाखा प्रमुख मनोज कुमार कर्ण, आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, कानुन शाखाका इश्वर बराल र नक्सा शाखाका गौरव झाले सहभागिहरूलाई बहाल कर, संरचनाको नक्सा स्वीकृति प्रक्रिया र कानुनी प्रावधानहरूको विस्तृत जानकारी दिएका थिए।
महानगरले बहाल कर प्रणालीलाई व्यवस्थित, उत्तरदायी र कानुनी बनाउन यो कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिरहेको छ। घरधनीहरूसँग चरणबद्ध छलफल गर्दै बहाल कर संकलनलाई तीव्रता दिने तयारी पनि महानगरले गरेको छ। महानगरको विश्वास छ— शहरीकरण तीव्र रूपमा भइरहेको वीरगंजमा कर प्रणालीको सुदृढीकरणले पूर्वाधार विकास र सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याउनेछ।
