लामो समयदेखि सामाजिक सञ्जाल ’ईमो’ को ‘भ्वाइस क्लब’ मार्फत नेपाली गीत–संगीतलाई माया गर्ने श्रोतामाझ विभिन्न कार्यक्रम गर्दै आएका तथा निर्णायक जजको भूमिका निर्वाह गर्दै आएका सल्यान निवासी डेभिड केसीमाथि चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाइएको छ।
हामी सबैको एउटै आवाज – ईमो म्यूजिक ग्रुप’ अन्तर्गत आयोजित हालैको एक गायन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्दा उनले गायकीका आधारमा निष्पक्ष मूल्यांकन गरेका थिए। सोही मूल्यांकनका आधारमा केही सहभागी प्रतियोगीहरू बाहिरिएपछि, तीमध्ये केहीले व्यक्तिगत आक्रोश पोख्दै सामाजिक सञ्जालमार्फत गालीगलौज मात्र होइन, पैसा खाएको आरोप समेत लगाएका छन्।
सो ग्रुपका संस्थापक विकास ठकुरीका अनुसार, केही पदाधिकारी तथा ईमो सञ्जालमै सक्रिय, कोही नेपालमा रहेका तथा कोही विदेशमा बसोबास गर्दै आएका व्यक्तिहरू — जस्तै शुभेच्छा लामा, सुमी प्राखिन, श्रीया मगर, सपना मगर, नयन थापा, कायरा साही ठकुरी, सुहाना आले र कान्छी नाम प्रयोग गर्नेले सामूहिक रूपमा डेभिड केसीको चरित्र हत्या गर्न खोजेका हुन् ।
ठकुरीका अनुसार, व्यक्तिगत र भावनात्मक रिसइवीका कारण यस्तो कार्य गरिएको हुनसक्ने भन्दै नेपाल कानूनअनुसार ती व्यक्तिहरूमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ। साथै, उनले यस्ता अनावश्यक विवादबाट टाढा रहन र कुनै पनि व्यक्तिको व्यक्तिगत छवि बिगार्ने कार्य नगर्न सबैलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालको प्रयोग सकारात्मक उद्देश्यका लागि हुनुपर्ने सन्देश दिंदै ईमो मञ्चमा स्वस्थ प्रतिस्पर्धा र आपसी सम्मानको वातावरण बनाउन उनले सबै संगीतप्रेमीलाई संयमित बन्न पनि आह्वान गरेका छन् ।
