पोखरा । कलाकार सुबि खनालले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘प्रेमको गीत’ सार्वजनिक भएको छ । प्रेम र समर्पणको भावनाले भरिएको यस गीतमा देखिएको सुबिको सशक्त अभिनयले दर्शकको मन छोएको छ ।
गायिका रोजिना बस्नेत र गायक रञ्जन राईको स्वरमा सजिएको यस गीतमा इन्द्रजित भुलको शब्द, मित्र केसीको संगीत र विशाल निरौलाको एरेन्ज रहेको छ । ‘प्रेमको गीत’ अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियोको निर्देशन आशिष थापाले गरेका छन् भने कलाकार सुवि खनाल र गणेश पौडेलको मुख्य अभिनय रहेको छ । बालकलाकार बिमला पौडेल ‘मिया’ को भूमिकामा देखिएकी छिन् । गोविन्द भण्डारीले खिचेको भिडियोलाई निरञ्जन केसीले सम्पादन तथा पब्लिसिटी डिजाइन गरेका हुन् ।
देशको पर्यटकीय राजधानी पोखराका रमणीय दृश्यहरुमा छायांकन गरिएको यस भिडियोले प्राकृतिक सौन्दर्य र भावनात्मक कथावस्तुलाई एकसाथ जोडेको छ ।
सुबि खनालको पछिल्लो समय म्युजिक भिडियोहरूमा निरन्तर व्यस्तता बढेको छ । उनले अभिनय गरेका यसअघि पनि थुप्रै म्युजिक भिडियो सार्बजनिक भइसकेका छन् ।
