वीरगंज। वीरगंजलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियानमा अब पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ व्यवसायीहरू पनि सहभागी हुने भएका छन्। वीरगंज महानगरपालिका र पान व्यवसायी संघबीच भएको सहमतिपछि जथाभावी थुक्ने र फोहोर गर्ने प्रवृत्तिलाई नियन्त्रणमा ल्याउने पहल सुरु गरिएको हो।
सहमतिअनुसार अब वीरगंज क्षेत्रका सम्पूर्ण पान पसलहरूमा अनिवार्य रूपमा डस्टबिन राख्नुपर्नेछ। ग्राहकलाई थुक्न नदिने र फोहोर नगर्न चेतावनी दिने जिम्मेवारी व्यवसायीले लिनुपर्नेछ। साथै गुट्खा तथा सुर्तीजन्य पदार्थहरूको खुला बिक्रीमा कडाइ गरिनेछ। विशेषतः विद्यालय क्षेत्र, अस्पताल वरपर यस्ता सामान बिक्री निषेध गरिने र विद्यार्थीलाई बिक्री गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ।
वीरगंज महानगर प्रमुख राजेशमान सिंहले यो सहकार्यलाई महानगरको ‘स्वच्छ वीरगंज’ अभियान अन्तर्गतको महत्वपूर्ण पाइला भएको बताएका छन्। “वीरगंजलाई नमुना शहर बनाउन हामी सबै मिलेर लाग्नुपर्छ,” सिंहले भने, “पान व्यवसायीहरूको साथ पाउँदा अभियानमा नयाँ ऊर्जा थपिएको छ।”
पान व्यवसायी संघ पर्साका अध्यक्ष लालबहादुर चौरसियाले पान व्यवसायीहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै सहमतिअनुसार कार्य गर्ने बताएका छन्। उनले बालबालिका, बिरामी र सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै जिम्मेवार व्यापार प्रवाह गर्न प्रतिबद्धता जनाए।
संघले चाँडै नै जनचेतनामूलक र्यालीसमेत निकाल्ने तयारी गरेको छ, जसले नागरिकहरूलाई सफाइप्रति सचेत बनाउने विश्वास लिइएको छ। साथै, अब सबै पान व्यवसायीहरूले महानगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र पसल सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बजार अनुगमन थप कडा बनाइने जनाउँदै नियम उल्लंघन गर्नेलाई कारबाही गरिने स्पष्ट पारे। उनले नगरवासीहरूलाई पनि नियम पालनामा सहयोग गर्न आग्रह गरे।
यो सहकार्यसँगै वीरगंजको सफाइ अभियानमा नयाँ मोड आएको छ। नागरिक, व्यापारी र स्थानीय सरकारबीचको समन्वयले वीरगंजलाई चिटिक्क र मर्यादित शहर बनाउने विश्वास गरिएको छ।
