काठमाडौं । महिनावारीलाई मर्यादा, मानव अधिकार र लैंगिक समानताको दृष्टिकोणबाट हेर्ने उद्देश्यसहित काठमाडौंमा चार दिनसम्म सञ्चालित अन्तर्राष्ट्रिय मिडिया तालिम शनिबार सम्पन्न भएको छ।
Global South Coalition for Dignified Menstruation को आयोजनामा सम्पन्न उक्त तालिममा नेपालसहित कश्मीर, पाकिस्तान, भारत, श्रीलंका र केन्याका पत्रकारहरूको सहभागिता रहेको थियो। तालिममा महिनावारीसम्बन्धी सामाजिक धारणाहरू, विभेदकारी अभ्यास, नीतिगत खाडल, र कानुनी अपूरोपनाका विषयमा गहिरो छलफल गरिएको थियो।
सहभागीहरूले महिनावारीलाई केवल ‘साफसफाइ’ वा ‘सेनेटरी प्याड’ सिमित नबनाई मानव अधिकार, लैंगिक समानता र सामाजिक मर्यादाको सवालको रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए।
पाकिस्तानका सहभागी इरफान हुसेन वाबकले सबै देशहरूमा महिनावारीका सम्बन्धमा देखिने विभेद झण्डै समान रहेको निष्कर्ष प्रस्तुत गरे। उनले सञ्चार माध्यममा महिनावारीलाई सधैं सफाइजन्य विषयको रूपमा मात्र चित्रण गरिनुले संरचनात्मक भेदभावलाई बल पुग्ने बताए।
केन्याबाट सहभागी मारिएन अनयाङ्गो मुगाण्डा भन्छिन्, “महिनावारीका बारेमा मेरो देशमा गहिरो बहस भएको छैन, तालिममा सहभागी भएपछि मात्रै यति गहिरो र बहुपक्षीय दृष्टिकोणबाट बुझ्न पाइयो।” उनले महिनावारीलाई लाज, डर वा अपमानको रूपमा नहेरी सम्मानपूर्वक व्यवहार गर्नुपर्ने धारणा राखिन्।
तालिममा सहभागी पत्रकारहरूले आफ्ना व्यक्तिगत अनुभव समेत साटासाट गरेका थिए, जसले महिनावारी हुने र नहुने दुवैका दृष्टिकोणलाई बुझ्न सहयोग गरेको थियो।
मिडिया विज्ञ डा. समीक्षा कोइराला ले महिनावारीलाई मानव अधिकार, लैंगिक हिंसा, सामाजिक असमानता र संरचनात्मक भेदभावसँग जोडेर बुझ्नुपर्ने धारणा राखिन्। उनका अनुसार महिनावारी केवल महिला वा पुरुषको मात्र नभई सबै लिंग पहिचान भएका व्यक्तिको सरोकार हो।
Global South Coalition for Dignified Menstruation की संस्थापक तथा मानव अधिकारकर्मी डा. राधा पौडेल ले भने, “महिनावारी कुनै निजी वा लाज मान्ने विषय होइन, यो सार्वजनिक बहसको विषय हो र यसबारे बोल्न नहिचकिचाउनु हामी सबैको कर्तव्य हो।”
उनले थपिन्, “जबसम्म महिनावारीलाई केवल ‘सफाइ’ को रुपमा मात्र हेरिन्छ, तबसम्म हामी लैंगिक समानता र मर्यादित समाज निर्माणतर्फ अघि बढ्न सक्दैनौं। मिडियाले यस विषयलाई अझ गम्भीरताका साथ उठाउनुपर्छ।”
डा. पौडेलका अनुसार, “नेपाल मात्र होइन, विश्वभर महिनावारीसम्बन्धी विभेदले महिलाको आत्मसम्मान, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत हकमा समेत असर पारिरहेको छ। त्यसैले, मर्यादित महिनावारी सुनिश्चित गर्नु भनेको समावेशी र समान समाजतर्फको यात्रा हो।”
उनले मिडियालाई परिवर्तनको सशक्त माध्यमको रूपमा प्रयोग गर्न आग्रह गर्दै भनिन्, “पत्रकारहरू परिवर्तनका संवाहक हुन्। महिनावारीबारे सकारात्मक, यथार्थपरक र अधिकारमुखी सामग्री तयार पार्न सकियो भने धेरै महिलाको जीवनमा सकारात्मक असर पर्न सक्छ।”
