आज:  | Tue, 21, Apr, 2026

डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी अभियोगमा पक्राउ पुर्जी जारी

Avatar photo दिशा निर्देश ३ बैशाख २०८२, बुधबार १४:५४ मा प्रकाशित (१ साल अघि)

जाबिर हुसेन /काठमाडौं, ३ वैशाख  — मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा हाल अनुसन्धान जारी छ। “जाहेरीमा उल्लेख गरिएका दाबीहरूको सत्यता पुष्टि अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ,” एसपी बोहोरा भन्छन्।

उजुरीमा डा. अहिराजले मधेश समुदायकी एक नाबालिग युवतीलाई १७ वर्षको उमेरदेखि निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ। प्रारम्भमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीसमक्ष पुगेकी थिइन्।

पीडितले गएको माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी थिइन्। उक्त उजुरी फागुन ३ गते प्रहरी दर्ता किताबमा अभिलेख गरिएको हो। सोही उजुरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश लिइएको पीडितको पक्षमा काम गरिरहेकी एक महिला अधिकारकर्मीले जानकारी दिइन्।

उनका अनुसार पक्राउ पुर्जी जारी भएको चार दिन भइसके पनि डा. अहिराज हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन्। पीडितको परिचय गोप्य राखिएको छ। प्रहरी स्रोतले भने अनुसन्धानलाई थप प्रभावकारी बनाउने प्रयत्न भइरहेको जनाएको छ।


सम्बन्धित खबरहरु