वीरगंज,३ पर्सा : नेपालको ऐतिहासिक र क्रान्तिकारी शहर वीरगंज सामाजिक, सांस्कृतिक र धार्मिक विविधताको प्रतीक रहँदै आएको छ। यहाँका मौलिक परम्परा, धार्मिक स्थलहरू, पर्व-यात्राहरू तथा समुदायबीचको आपसी समझदारीले वीरगंजलाई सदैव सद्भावको उदाहरण बनाएको छ।
तर पछिल्ला केही दिनयता शहरमा देखिएका अशांति र तनावपूर्ण गतिविधिहरूले वीरगंज फेरि सजग र सचेत बन्नुपर्ने मोडमा उभिएको छ। शांति र सौहार्दमा खलल पुर्याउने प्रयासहरूपछि स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायका अगुवाहरू मिलेर समाधानको बाटो खोज्न सक्रिय छन्।
शहरको अवस्थाबारे धारणा व्यक्त गर्दै खानेपानी मन्त्री प्रदीप यादवले भने, “वीरगंज सबैको साझा फूलबारी हो। यहाँ शांति, मेलमिलाप र सहिष्णुता कायम राख्नु हाम्रो साझा जिम्मेवारी हो। यदि कसैले सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउने, उत्तेजक अभिव्यक्ति दिने, आगजनी वा अभद्र व्यवहार गर्ने प्रयास गर्छ भने, उनीहरूलाई कानूनी दायरामा ल्याउनु अत्यावश्यक छ।”
मन्त्री यादवले वीरगंजमा देखिएको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थपे, “म व्यक्तिगत रूपमा पर्सा प्रशासन, प्रहरी निकाय तथा विभिन्न समुदायका अग्रजहरूसँग निरन्तर समन्वयमा छु। संवाद र सहकार्यमार्फत शांति स्थापना गर्न प्रयासरत छु।”
सामाजिक सद्भाव जोगाउन सबै नगरवासीसँग संयमता र समझदारीपूर्वक व्यवहार गर्न अपील गर्दै उनले भने, “हल्ला र प्रचारबाजीको बेला होइन, नेपथ्यबाट गरिने गम्भीर र इमानदार प्रयासले मात्र दीर्घकालीन शांति सम्भव हुन्छ। हामी सबैको साझा प्रयासले वीरगंज फेरि आफ्नो पुरानै लयमा फर्किनेछ।”
स्थानीय प्रशासनले समेत अशांति फैलाउनेलाई पहिचान गरी कानूनी कारबाही अघि बढाउने प्रक्रिया अघि सारेको जनाएको छ। शांति, सुरक्षा र सद्भाव कायम राख्न सुरक्षा निकायहरू उच्च सतर्कताका साथ खटिएका छन्।
