आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन, प्रहरीको लाठीचार्जपछि तनाव

Avatar photo दिशा निर्देश ३ बैशाख २०८२, बुधबार ००:१७ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज २ पर्सा — जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्दै मंगलबार साँझ वीरगञ्जमा विरोध प्रदर्शन भएको छ। जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिन पुगेकालाई  प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

गत शनिबार निकालिएको हिन्दूहरूरुको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले तीन जना हिन्दू युवाहरूलाई नियन्त्रणमा लिएपछि तनाव उत्पन्न भएको हो। पक्राउ परेकाहरूलाई बिना शर्त रिहाइको माग गर्दै हिन्दूवादीहरू प्रदर्शनमा उत्रिएका छन्।

प्रहरीको लाठीचार्जपछि तितरबितर भएका प्रदर्शनकारीहरूले वीरगञ्जको घण्टाघर, आदर्शनगर चोक लगायतका स्थानमा टायर बालेर आक्रोश व्यक्त गरेका थिए। साँझ करिब साढे ६ बजेदेखि साढे ७ बजेसम्म जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरी बीच घम्साघम्सी भएको थियो।

शनिबारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि त्यसको विरोधमा युवा समूहले प्रहरी कार्यालय अगाडि धर्ना दिन पुगेका थिए। उनीहरूले पक्राउ परेकाहरूलाई नछोडेसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले बल प्रयोग गरेर हटाएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार सर्वदलीय सर्वपक्षीय बैठकमा भएको पाँच बुँदे सहमतिअनुसार नै कारबाही प्रक्रिया अघि बढाइएको हो।

‘सीसीटीभी फुटेज लगायत अन्य यथेष्ट प्रमाणका आधारमा घटनामा प्रत्यक्ष संलग्न भेटिएका चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो,’ उनले भने, ‘अन्य संलग्नको पनि खोजी जारी छ।’

पक्राउ परेकामध्ये शेष खुर्सेद, सलाउद्दिन मिया ठकुराई, बजेट सिंह र रवि सर्राफ रहेका छन्। उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु