काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरूले उठाएका माग वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षाजस्तो संवेदनशील क्षेत्रको समस्या संवादका माध्यमबाट यथाशीघ्र समाधान गर्न र नियमित पठनपाठन सञ्चालनका लागि आवश्यक वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “विद्यालय शिक्षासम्बन्धी कानून निर्माण प्रक्रियामा सम्बन्धित पक्षहरूसँग पर्याप्त छलफल र परामर्श गरी समयसापेक्ष ऐन निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ। साथै, विगतमा शिक्षकहरूसँग सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आयोगको माग छ।”
शिक्षकको आन्दोलनका कारण बालबालिकाको शिक्षाको अधिकार प्रभावित भएकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन, कक्षा १२ को परीक्षा सञ्चालन, र भर्ना अभियान प्रभावित हुने देखिएको उल्लेख गरिएको छ। आन्दोलनकै कारण माइतीघर क्षेत्रको आवागमनसमेत प्रभावित भएको अनुगमनबाट देखिएको आयोगले जनाएको छ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन्। माइतीघरबाट र्यालीसहित बानेश्वर पुगेका शिक्षकहरूले सडकमा नै बसेर धर्ना दिएका थिए। नेपाल शिक्षक महासङ्घको अगुवाइमा करिब दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलन जारी छ।
