वीरगञ्ज । छोटु राजको सुमधुर स्वरमा सजिएको “बडि सुन्दर देशवा मोर नेपाल बा” बोलको भोजपुरी गीत सार्बजनिक भएको छ ।
विनोद मेहताको भावनात्मक शब्द र विवेक परियारको संगीत संयोजनमा तयार भएको गीतको भिडियो वीरगञ्ज अपडेट्स एनपी युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।
करिब २०५७ सालतिर विनोद मेहताद्वारा लेखिएको यो गीत लामो समयसम्म ओझेलमा परेको थियो । तर देश, माटो र पहिचानप्रतिको गहिरो मायाले भरिएको यस गीतलाई अहिले आएर छोटु राजको स्वरमा सार्वजनिक गरिएको हो । गीतमा विश्नु थापाको बाँसुरीले अझ भावनात्मक र सांगीतिक गहिराइ थपेको छ ।
गीतको भिडियोमा पनि नेपालको विविधता, प्राकृतिक सौन्दर्य र धार्मिक सम्पदालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी वीरगञ्जको प्रसिद्ध शंकराचार्य गेट, भिस्वा डाँडा, माइस्थानस्थित गहवामाई मन्दिरसहित काठमाडौँको पशुपति मन्दिर, विश्वकै सर्वोच्च शिखर सगरमाथा, राष्ट्रिय फूल लालीगुँरास र राष्ट्रिय चराको रूपमा चिनिने डाँफे मुनालजस्ता दृश्य समावेश गरिएका छन् ।
विनोद मेहता, किशन सर्राफ, धिरज पण्डित र छोटु राजको अभिनय रहेको भिडियोको निर्देशन आदित्य पटेलले गरेका हुन् भने स्क्रिप्ट जितेश मेहताले लेखेका हुन् । भिडियोलाई आशिष ठाकुरले सम्पादन गरेका छन् भने नितेश मेहताले निर्माण गरेका हुन् ।
गीत सार्वजनिक भएसँगै देशप्रेम, सांस्कृतिक विविधता र नेपाली पहिचान झल्काउने यसको भावनात्मक पक्षले स्रोतामाझ गहिरो प्रभाव पारेको छ । विशेषगरी विदेशमा रहेका नेपालीहरू तथा सीमा क्षेत्रका नागरिकहरूले गीतलाई आफ्नो मनको आवाज ठानेका छन् ।
