वीरगञ्ज, ३० चैत : हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ। झडप नियन्त्रण बाहिर गएपछि पर्सा प्रशासनले वीरगञ्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
शनिबार अपराह्न नगर परिक्रमा गरिरहेको हिन्दू समुदायको शोभायात्रा छपकैयास्थित श्रीराम हल नजिक पुगेपछि एक सहभागीले बोकेको “जय श्रीराम” लेखिएको झण्डा एक अपरिचित व्यक्तिले खोसेपछि विवाद सुरु भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए। त्यसपछि स्थिति बिग्रँदै गएर दुई समुदायबीच ढुंगामुढा र झडप भएको थियो।
झडपको क्रममा छपकैयास्थित दुईवटा बिरियानी हाउस, केही मासु पसल, जिनत मेडिकल औषधि पसल र निजी घरहरूमा तोडफोड तथा आगजनी गरियो। तोडफोडपछि सडकमा निकालिएका फर्निचर, फ्रिज, चुलो, काउण्टर लगायतका सामग्रीमा आगजनी गरिनुका साथै १० भन्दा बढी मोटरसाइकलमा समेत आगो लगाइएको थियो।
झडप नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार र हवाई फायरसमेत गर्नु परेको थियो। बेलुकी ८ बजेसम्म पनि इदगाह चोक क्षेत्रमा झडप जारी रहेपछि नेपाली सेना समेत परिचालन गरिएको प्रजिअ अर्यालले बताए।
स्थिति नियन्त्रणमा ल्याउन प्रशासनले शनिबार बेलुकी ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजे सम्मका लागि वीरगञ्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्यु क्षेत्रको पूर्व सीमामा भेडियाही चोक, उत्तरमा गण्डक चोक, पश्चिममा सिर्सिया चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको छ।
प्रजिअ अर्यालका अनुसार, झडपका क्रममा ४० जना घाइते भएका छन्। तीमध्ये पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहसहित २५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ १५ जना घाइते भएका छन्। घाइतेहरूको नारायणी अस्पताल र अन्य स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
प्रहरीले शनिबार बेलुकीसम्म २ राउण्ड हवाई फायर र १३० राउण्ड अश्रुग्यास प्रहार गरेको पनि जनाइएको छ। शनिबार रातिसम्मको स्थितिमा स्थिति केही हदसम्म नियन्त्रणमा आएको प्रशासनले जनाएको छ।
