आज:  | Tue, 21, Apr, 2026

नक्कली लाइसेन्स काण्ड: मासिक ३ करोड उठाउँदै आएका ४ जना कर्मचारी पक्राउ

Avatar photo दिशा निर्देश २६ चैत्र २०८१, बुधबार १९:०८ मा प्रकाशित (१ साल अघि)

नेपालगञ्ज, बाँके — नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरी मासिक तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेको आरोपमा बाँके यातायात व्यवस्था कार्यालयका चार कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यस प्रकरणमा संलग्न रहेको आरोपमा आयोगको टंगाल र नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले ती चारजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी छन्।

प्रवक्ता पौडेलका अनुसार उनीहरूविरुद्ध नक्कली लाइसेन्स वितरणमार्फत अवैध रूपमा ठूलो परिमाणमा रकम संकलन गरिएको उजुरी आयोगमा प्राप्त भएको थियो। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

पक्राउ परेकासँगै आयोगले घटनामा प्रयोग भएका विद्युतीय उपकरणहरू समेत बरामद गरेको छ। अख्तियारले हाल घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिएको छ।


सम्बन्धित खबरहरु