वीरगञ्ज २६ चैत : नारायणी अस्पतालको अपरेशन थिएटरमा मंगलबार आकस्मिक रूपमा तालाबन्दी गरिएको छ। डा. राजदेव कुश्वाहाको निर्देशनमा ‘ठूलो अपरेशन गर्नुपर्ने’ कारण देखाउँदै अपरेशन थिएटर बन्द गरिएपछि अस्पतालको सेवा प्रभावित भएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहका अनुसार, अर्थोपेडिक तथा सर्जरी विभागबीच समन्वयको अभावका कारण यस्तो अवस्था सिर्जना भएको हो। “छलफल बिना यस्तो संवेदनशील निर्णय हुनु दुर्भाग्यपूर्ण हो,” डा. साहले बताए।
एक सरकारी अस्पतालको अत्यावश्यक सेवा क्षेत्र — अपरेशन थिएटर —मा यसरी ताला लगाइनु गैरजिम्मेवार कार्य भएको भन्दै चिकित्सक र सेवाग्राही दुवै आक्रोशित छन्। “के अस्पताल कसैको निजी सम्पत्ति हो? वा कुनै प्रा.लि. जस्तो संस्थान हो, जहाँ व्यक्तिगत चित्त नबुझ्दा तालाबन्दी गर्न पाइन्छ?” एक वरिष्ठ चिकित्सकले आक्रोश व्यक्त गरे।
डा. राजदेव कुश्वाहा यसअघि पनि पटक–पटक विवादमा मुछिँदै आएका छन्। तर, अस्पताल प्रशासनले समयमै नियन्त्रण लिन नसक्दा यस्ता क्रियाकलाप दोहोरिँदै गएका छन्।
“यो देशमा कानुन छ कि छैन? नियम छ कि छैन?” एकजना सेवाग्राहीले प्रश्न गरे।
अब सम्बन्धित निकायले बेलैमा ध्यान नदिए अस्पतालको सेवा थप अस्तव्यस्त बन्ने देखिन्छ। सेवाग्राही, स्वास्थ्यकर्मी र नागरिक समाजले डा. कुश्वाहाको भूमिकाको गम्भीर छानबिन गरी आवश्यक कारबाहीको माग गरेका छन्।
