आज:  | Tue, 21, Apr, 2026

नारायणी अस्पताल विकास समितिमा स्थायी कर्मचारीको स्तर वृद्धि प्रक्रिया अलपत्र, ७५ जनाको नामावलीसहित मागपत्र बुझाइयो

Avatar photo दिशा निर्देश २२ चैत्र २०८१, शनिबार १०:२७ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज, २३  चैत: नारायणी अस्पताल विकास समितिमा लामो समयदेखि कार्यरत स्थायी कर्मचारीहरूको पदोन्नति (स्तर वृद्धि) प्रक्रिया वर्षौंदेखि थाती रहँदा कर्मचारीहरूमा असन्तोष बढ्दो छ। अस्पताल विकास समिति अन्तर्गत कार्यरत ७५ जना स्थायी कर्मचारीको स्तर वृद्धि माग गर्दै उनीहरूले अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास समक्ष सामूहिक रूपमा निवेदन बुझाएका छन्।

अस्पताल विकास समिति कर्मचारी युनियनका सह-संयोजक रामेश्वर प्रसादका अनुसार, ती कर्मचारीहरूको नामावलीसहितको पत्र अस्पताल प्रशासनमा बुझाइएको छ, जसमा नेपाल सरकारको सार्वजनिक सेवा संहिता (नेपाल सरकार सेवा शर्त तथा सुविधा सम्बन्धी ऐन, २०४९) र स्थानीय तह कर्मचारी सेवा ऐन, २०७५ का सम्बन्धित प्रावधानहरूको उल्लेख गरिएको छ।

स्तर वृद्धि सम्बन्धी व्यवस्थाहरू अस्पताल विकास समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७४, मन्त्रिपरिषद्को निर्णय, र संविधानको धारा ३० र ३५ मा उल्लिखित “श्रमिकको हक अधिकार र मर्यादित कामको वातावरण” को भावनाविपरीत कर्मचारीको नियमित पदोन्नति रोकिएको युनियनको भनाइ छ।

पत्र बुझाउनेहरूमा डा. रोशन शली, डा. विमला महर्जन, डा. मनोज कुमार, डा. रामकिशोर सिंह, हरिलाल प्रसाद गुप्ता, रामेश्वर प्रसाद, इन्दु मिश्र, यशोदा श्रेष्ठ, हेमचन्द्र यादव, देवकुमार लामा लगायतका कर्मचारीहरू छन्, जसले वर्षौंदेखि अस्पतालमा सेवा दिँदै आएका छन्।

युनियनका अनुसार, “स्थायी कर्मचारीहरूको सेवा अवधि, कार्यक्षमता मूल्यांकन, र आन्तरिक व्यवस्था हेर्दा उनीहरूको पदोन्नति हुनुपर्ने अवधि निकै अघि नै सकिएको छ। तर, प्रशासनको लापरवाही र उदासीनताका कारण उनीहरूको सेवा समायोजन तथा प्रोन्नति प्रक्रिया अगाडि बढ्न सकेको छैन।”

स्तर वृद्धि प्रक्रिया अविलम्ब अघि बढाउन अस्पताल प्रशासनलाई आग्रह गर्दै युनियनले यदि माग सम्बोधन नभए आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

j


सम्बन्धित खबरहरु