वीरगञ्ज २२ चैत :– लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको सुरक्षाका लागि वीरगञ्जमा मुस्लिम समुदायका प्रतिनिधिहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई ज्ञापन पत्र बुझाएका छन्।
उक्त ज्ञापन पत्रमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरूले २०८१ चैत्र १५ गते मुलुकमा हिंसात्मक गतिविधि मच्चाएको, सञ्चारकर्मी सुरेश रजकलाई हत्या गरिएको, प्रेस तथा सर्वसाधारण नागरिकमाथि आक्रमण भएको भन्दै दोषीलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।
![]()
ज्ञापन पत्रमा भनिएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताले धेरै बलिदान गर्दै आएका छन्। नेपाली मुस्लिम समुदायले पनि लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको इतिहास छ। तर, पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर खतरा सिर्जना गरेको छ। प्रेस स्वतन्त्रतामाथि आक्रमण हुनु, सञ्चारमाध्यमहरूमाथि आक्रमण हुनु लोकतान्त्रिक शासन प्रणालीलाई कमजोर बनाउने प्रयास हो, जुन कुनै पनि हालतमा स्वीकार्य छैन।”
![]()
ज्ञापन पत्र बुझाउने प्रतिनिधिमण्डलमा ई. नुरहोदा आलम, ताजुदिन अंसारी ,महमद सलिम, नसिर हवारी, रेयाज अहमद, असहाब आलम, फैयाज अहमद ठकुराइ, आस महम्मद मिया, महम्मद सलाम लगाएत मुस्लिम समाज पर्साका संयोजक जफ्फर अंसारी रहेका थिए।
ज्ञापन पत्रमार्फत सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह, दुर्गा प्रसाईं तथा अन्य संलग्नलाई कानुनी कठघरामा ल्याउनुपर्ने, सञ्चारकर्मीहरूलाई सुरक्षा प्रदान गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।
ज्ञापन पत्र बुझाएपछि संयोजक जफ्फर अंसारीले भने, “यदि दोषीलाई उन्मुक्ति दिइयो भने नेपाली मुस्लिम समुदाय तथा लोकतन्त्रप्रेमी नागरिकहरू सशक्त संघर्षका लागि बाध्य हुनेछन्। लोकतन्त्रको रक्षा गर्न हामी कुनै पनि परिस्थितिमा पछि हट्ने छैनौं।”
ज्ञापन पत्र ग्रहण गर्दै प्रजिअ अर्यालले सरकारलाई आवश्यक कारबाहीका लागि जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे।
