वीरगञ्ज । ग्राहकको चाहना र आवश्यकताअनुसार सेवा सुधार गर्दै डिजिटल बैंकिङ तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी बनाउन नेपाल एसबीआई बैंकले योजना अघि बढाइरहेको बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बताएका छन्।
वीरगञ्जको आदर्शनगरस्थित होटल सरोवर पोर्टिकोमा आयोजित ग्राहकसँगको भेटघाट कार्यक्रममा तिवारीले आगामी दिनमा बैंकका सेवा सुविधालाई अझ आधुनिकीकरण गर्दै ग्राहकहरूको पहुँचमा पु¥याउने लक्ष्य रहेको जानकारी गराए। उनले बैंकको दिगो विकासका लागि सेवाग्राहीको सुझावलाई प्राथमिकता दिइने उल्लेख गरे।
बैंकका सेवाहरूलाई प्रभावकारी बनाउने तथा ग्राहकको आवश्यकता अनुसार परिमार्जन गर्ने उद्देश्यले नेपाल एसबीआई बैंकले नियमित रूपमा ग्राहकसँग अन्तरक्रिया गर्दै आइरहेको तिवारीले बताए। उनले बैंकलाई थप प्रतिस्पर्धी र डिजिटल प्रणालीमा आधारित बनाउन विभिन्न योजना बनाइएको जानकारी गराए।
नेपाल–भारत संयुक्त लगानीमा सन् १९९३ मा स्थापित नेपाल एसबीआई बैंकले हालसम्म देशभर एक सयभन्दा बढी शाखा विस्तार गरिसकेको छ। बैंकका प्रमुख व्यापार अधिकृत रितेश अर्यालका अनुसार बैंकले आफ्ना सेवाहरूलाई अझ व्यापक बनाउने उद्देश्यले डिजिटल प्रविधिहरूमा जोड दिइरहेको छ।
नेपाल एसबीआई बैंकमा नेपाल सरकारको १५ प्रतिशत स्वामित्व रहेको छ भने स्टेट बैंक अफ इण्डियाले ५५ प्रतिशत स्वामित्व राखेको छ। बैंकका मधेश प्रदेश प्रमुख उदय पंजियार थारुले दिएको जानकारीअनुसार बाँकी १५ प्रतिशत स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ भने ३० प्रतिशत स्वामित्व सार्वजनिक सेयरधारकको छ।
देशभरि एक सय पूर्ण शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ आउटलेट र कर्पोरेट कार्यालयहरूमार्फत बैंकले आफ्नो सेवा प्रदान गरिरहेको छ। बैंकका १५१ आउटलेटहरूमा ९२४ जना कर्मचारी प्रत्यक्ष रूपमा कार्यरत रहेको मधेश प्रदेश प्रमुख पंजियारले बताए।
नेपालका ५१ जिल्लामा सेवा विस्तार गरिसकेको नेपाल एसबीआई बैंकले १२५ एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल वालेट, एसएमएस बैंकिङ, अनलाइन बुकिङ सुविधा जस्ता आधुनिक प्रविधिहरू मार्फत ग्राहकलाई मूल्य अभिवृद्धि सेवाहरू प्रदान गरिरहेको वीरगञ्ज शाखाका प्रबन्धक राकेश महर्जनले जानकारी दिए। बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले डिजिटल बैंकिङलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै कर्जा योजना तथा अन्य वित्तीय सेवाहरूलाई सरल बनाउन बैंकले विभिन्न रणनीति ल्याइरहेको बताए।
ग्राहक भेटघाट कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका देवी सहाय मीना, वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगी, वरिष्ठ उद्योगी अशोक वैद्य, राजेश अग्रवाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पाण्डा, प्रमुख जोखिम अधिकृत बिष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल तथा स्थानीय संचारमाध्यम रेडियो वीरगञ्ज, टिभी वीरगञ्ज र मधेश दृष्टिका अध्यक्ष ध्रुव साहसहित वीरगञ्जका उद्योगी, व्यवसायी तथा बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल एसबीआई बैंकले आगामी दिनमा ग्राहकलाई लक्षित गरी वित्तीय साक्षरता अभियान तथा अन्य विभिन्न सुविधासहितका कार्यक्रम गर्ने योजनामा रहेको बैंकका अधिकारीहरूले जानकारी दिएका छन्।
