आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जको रोयल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५ सयभन्दा बढी लाभान्वित

Avatar photo दिशा निर्देश २४ फाल्गुन २०८१, शनिबार १६:०८ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज, वडा नं. १५ स्थित रोयल एकेडेमीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पताल, आशाराम हस्पिटल र इम्प्याक्ट नेपालको सहकार्यमा विभिन्न स्वास्थ्य सेवा प्रदान गरियो। विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दालाई लक्षित गरिएको शिविरमा ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ।

आँखा परीक्षणमा ९ जनामा मोतिबिन्दु पुष्टि
वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीका अनुसार शिविरमा आँखाको परीक्षण गरिएका बिरामीमध्ये ९ जनामा मोतिबिन्दुको लक्षण देखिएको छ। ती बिरामीहरूको वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ। नेत्र अधिकृत चाँदनी जयसवाल, व्यवस्थापक पवन सिंह धामी, मेघन धामी र ईशा धामीसहितको टोलीले आँखा परीक्षण सेवा प्रदान गरेका थिए।

शिविरमा जेनरल फिजिसियन डा. बिरेन्द्र महतो, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. आरती शाह, हेल्थ असिस्टेन्ट आदेश कुमार यादव तथा इम्प्याक्ट नेपालकी ईएनटी सर्जन डा. सलेस्मा रिजालको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए। साथै, महिलाहरूका लागि विशेष परामर्श सेवा पनि उपलब्ध गराइएको थियो।

स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा आशाराम हस्पिटलका प्रबन्ध निर्देशक डा. अशोक दास, सञ्चालक निभा दास, ग्लोबल बिजनेस कलेजका प्रबन्ध निर्देशक श्रीराम दास, रोयल एकेडेमीका अध्यक्ष ओमप्रकाश श्रेष्ठ, प्रबन्ध निर्देशक सबनम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

रोयल एकेडेमीकी प्रबन्ध निर्देशक सबनम श्रेष्ठका अनुसार विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजना गरेको हो। उनले भनिन्, “विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राख्दै शिविर आयोजना गरिएको हो। यसले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं। भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिनेछौं।”

विद्यालयकी प्रिन्सिपल बिजया ओझैयाले शिक्षासँगै स्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिइएको बताउँदै भनिन्, “विद्यालयमा अध्ययनरत विद्यार्थी मात्र नभई अभिभावक, शिक्षक तथा स्थानीय बासिन्दालाई समेत लाभ पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको हो।”

शिविरमा सहभागी अभिभावक र स्थानीय बासिन्दाले विद्यालयले आयोजना गरेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू जारी राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।


सम्बन्धित खबरहरु