वीरगञ्ज । वीरगञ्ज नर्सिङ्ग क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चार वटा विद्यार्थी संगठनहरू दर्ता भएका छन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिले तोकेको कार्यतालिका अनुसार सोमबार सङ्घ–सङ्गठन दर्ता सम्पन्न भएको हो।
निर्वाचन समितिकी अध्यक्ष अञ्जु कुमारी महतोका अनुसार नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी), नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु दल दर्ता भएका छन्।
स्ववियु निर्वाचनका लागि दल दर्तासँगै नेतृत्व पनि स्पष्ट भएको छ। अखिल (क्रान्तिकारी) को नेतृत्व कविता आचार्यले लिएकी छन् भने नेपाली कांग्रेस निकट नेविसंघको नेतृत्व सबिना सुनारले सम्हाल्नेछिन्। अन्य दलहरूले पनि आ–आफ्ना उम्मेदवार तय गरिरहेका छन्।
फागुन २६ गते उम्मेदवार मनोनयन पत्र वितरण गरिनेछ भने फागुन २७ गते मनोनयन दर्ता हुनेछ। सोही दिन उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ।
स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते तोकिएको छ। त्रिभुवन विश्वविद्यालयको निर्देशनअनुसार देशभरका आङ्गिक क्याम्पसहरूमा एकैसाथ निर्वाचन सम्पन्न गरिनेछ। वीरगञ्ज नर्सिङ्ग क्याम्पसमा हुने प्रतिस्पर्धा विद्यार्थी संगठनहरूको लागि महत्वपूर्ण मानिएको छ।
