आज:  | Tue, 21, Apr, 2026

सिमेन्ट माफियाविरुद्ध सांसद रहबर अन्सारीको नेतृत्वमा वीरगञ्जमा विरोध र्‍याली

Avatar photo दिशा निर्देश १५ फाल्गुन २०८१, बिहीबार १८:४६ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज, १५ माघ : नेकपा माओवादी केन्द्रका नेता तथा मधेस प्रदेशसभा सांसद रहबर अन्सारीको नेतृत्वमा वीरगञ्जमा सिमेन्ट माफियाविरुद्ध व्यापक विरोध र्‍याली निकालिएको छ। सिमेन्ट उद्योगमा भइरहेको अनियमितता, कालोबजारी, कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धिको विरोध गर्दै उनले पृथक शैलीमा प्रदर्शन गरेका हुन्।

सिमेन्ट माफिया खबरदार, यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै!” नारासहित सांसद अन्सारी सिमेन्टको बोरा पहिरिएर वीरगञ्जको घण्टाघरमा उभिए। विरोधको क्रममा उनले सरकार र उद्योगीहरूको साँठगाँठका कारण सर्वसाधारण नागरिकहरू ठगिएको भन्दै आक्रोश पोखे।

वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध र्‍याली माइस्थान, आदर्शनगर, अलखिया मठ हुँदै पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागीहरूले सिमेन्ट बजारमा माफियातन्त्र हाबी भएको आरोप लगाउँदै सिन्डिकेट तोड्न सरकारलाई तत्काल हस्तक्षेप गर्न माग गरे।

प्रदर्शनकारीहरूले नेपालमै उत्पादित सिमेन्ट भारतमा २८० रुपैयाँमा निर्यात भइरहे पनि नेपाली उपभोक्ताले त्यसैको तीनगुना बढी ८०० रुपैयाँमा किन्नुपर्ने बाध्यताविरुद्ध आक्रोश व्यक्त गरे। विरोधका क्रममा “जनता मरेको मरै, सरकार हेरेको हेरै!” लेखिएका प्लेकार्ड प्रदर्शन गरिएका थिए।

कोणसभालाई सम्बोधन गर्दै सांसद अन्सारीले भने, “जनताको घर बनाउने सपनाको विमान सिमेन्ट माफियाहरूले हाइज्याक गरेका छन्। सिन्डिकेटका कारण उपभोक्ता ठगिनु परिरहेको छ। सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ, अन्यथा माफियातन्त्रविरुद्ध थप कडा आन्दोलन गर्न बाध्य हुनेछौं।”

उनले सिमेन्टको अस्वाभाविक मूल्यवृद्धिका कारण सर्वसाधारणलाई ठूलो आर्थिक बोझ परेको उल्लेख गर्दै भने, “सिमेन्टको मूल्यकै कारण चार कोठे घर बनाउन मात्र १० लाख रुपैयाँ बढी तिर्नुपर्ने अवस्था आएको छ। मजदुरदेखि निर्माण व्यवसायीहरूसम्म प्रभावित भएका छन्।”

प्रदर्शनमा माओवादी केन्द्रका कार्यकर्तासहित सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले सिमेन्ट बजारमा भइरहेको अनियमितताको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न सरकारसमक्ष माग गरे। सांसद अन्सारीले यो संघर्ष निरन्तर रहने बताउँदै आम नागरिकलाई अन्यायविरुद्ध एकजुट हुन आग्रह गरे।


सम्बन्धित खबरहरु