आज:  | Tue, 21, Apr, 2026

प्रकृति लम्सालको न्यायको माग गर्दै भारतीय महावाणिज्य दूतावास अगाडि विद्यार्थीहरूको प्रदर्शन

Avatar photo दिशा निर्देश ७ फाल्गुन २०८१, बुधबार १४:५२ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज ७ फागुन : अखिल (क्रान्तिकारी) पर्साका अध्यक्ष कबिराज पटेलको नेतृत्वमा विद्यार्थीहरूले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले “प्रकृति लम्साललाई न्याय दे”, “दोषीलाई कारबाही गर”, “किट विश्वविद्यालयका अधिकारीहरूलाई कारबाही गर”, “नेपाली विद्यार्थीहरूको सुरक्षा ग्यारेन्टी गर” लगायतका नारा लगाउँदै भारतीय सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

उक्त प्रदर्शनमा अखिल (क्रान्तिकारी) पर्सा अध्यक्ष कबिराज पटेल, विद्यार्थी नेता विवेक साह, महानगर सचिव सम्सेद अन्सारी, ठाकुरराम बहुमुखी क्याम्पस अध्यक्ष अनिश पटेल, केन्द्रीय लेखा उपाध्यक्ष गायत्री सिंह, केन्द्रीय सचिवालय सदस्य ज्योती साहनी लगायतका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव मिरोज अहमदले भने, “प्रकृति लम्सालमाथि भएको अन्याय असह्य छ। दोषीहरूलाई अविलम्ब कारबाही गरिनुपर्छ। हामी नेपाली विद्यार्थीहरूको सुरक्षाको ग्यारेन्टीका लागि संघर्ष जारी राख्नेछौं।”

विद्यार्थीहरूले दोषीमाथि कडा कानूनी कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।


सम्बन्धित खबरहरु