सिरहा, गोलबजार नगरपालिका–७ निवासी समाजसेवी केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ तथा डा. बिष्णु प्रसाद श्रेष्ठको संयुक्त स्वामित्वमा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा घडेरी जग्गा ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरिएको छ।
शनिबार आयोजित विशेष समारोहमा पूर्व कानूनमन्त्री लीला नाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठ, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी ब्रह्माकुमारी डा. राज दादी तथा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप कुमार लामाले संयुक्त रूपमा पाठशालाको शिलान्यास गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले समाजसेवी मोती श्रेष्ठको योगदानको प्रशंसा गर्दै शिक्षा, योग तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमा यस्तो कार्य महत्वपूर्ण हुने बताए। उनले गोलबजार नगरपालिकाले श्रेष्ठ परिवारद्वारा गरिएको यस समाजसेवामूलक कार्यलाई सधैँ सम्झिने उल्लेख गर्दै नगरपालिकाको तर्फबाट जग्गादाता श्रेष्ठ परिवारलाई विशेष धन्यवाद ज्ञापन गरे।
पूर्व कानूनमन्त्री श्रेष्ठले समाज सुधारका लागि दान र सेवाभावको आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठ परिवारद्वारा गरिएको यो योगदानले समाजमा सकारात्मक ऊर्जा थप्ने बताए। उनले “हामीले के लिएर आयौँ र के छाडेर जाँदै छौँ?” भन्ने प्रश्न स्मरण गराउँदै, भावी पुस्ताले श्रेष्ठ परिवारको योगदानमा गर्व गर्ने विश्वास व्यक्त गरे।
समाजसेवी मोती श्रेष्ठले धार्मिक, सामाजिक तथा नैतिक शिक्षाको प्रवर्द्धनका लागि यो योगदान गरिएको बताए। साथै, उनका अनुसार, श्रेष्ठ परिवारले विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा मानव सेवा आश्रमहरूका लागि हालसम्म करिब २० करोड मूल्य बराबरको जग्गा दान गरिसकेको छ।
श्रेष्ठ परिवारका सदस्य तथा युवा समाजसेवी ज्ञान कुमार श्रेष्ठले आफ्नो परिवारद्वारा समाजसेवामा गरिएको निरन्तर योगदानले आफू गर्वान्वित भएको बताए। साथै, उनले भविष्यमा पनि समाज सेवामा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
