वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको शनिवारको बैठकले आज आइतबारदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।
मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५.५० रुपैयाँ, दोस्रो वर्गमा १६७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट शनिवार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँ बढेर र डिजेलमा ३.५९ रुपैयाँ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
