वीरगञ्ज । परवानीपुरस्थित श्री भोज भगत माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूलाई एड्स तथा कन्डमसम्बन्धी जानकारी प्रदान गर्न एक सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई एचआईभी/एड्सबारे विस्तृत जानकारी दिइयो ।
कार्यक्रमका प्रशिक्षक तथा एएचएफ नेपालकी परामर्शदाता रोशनी सर्राफले एड्सको कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी गराउँदै यसको संक्रमणबारे फैलिएका गलत धारणाहरू चिर्ने प्रयास गरिन् । उनले एड्स छुँदा, सँगै बस्दा वा सामान्य सम्पर्कबाट नसर्ने स्पष्ट पार्दै, संक्रमित रक्तसञ्चार, असुरक्षित यौन सम्पर्क तथा सुईको साझा प्रयोग मुख्य जोखिम कारक रहेको बताइन् । साथै, एड्सबाट जोगिन सुरक्षित यौन व्यवहारको महत्व र कन्डमको प्रयोगलाई प्रभावकारी सुरक्षाको उपायको रूपमा प्रस्तुत गरिन् ।
विद्यालयका प्रधानाध्यापक बलीराम प्रसाद सर्राफले विद्यार्थीहरूका लागि यस्ता सचेतना कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै, शिक्षासँगै स्वास्थ्यप्रति जागरूकता बढाउनु समाजकै हितमा हुने बताए । विद्यार्थीहरूले एड्स र सुरक्षित यौन व्यवहारसम्बन्धी महत्त्वपूर्ण जानकारी हासिल गरेको प्रतिक्रिया दिएका छन् ।
एएचएफ नेपालका प्रतिनिधि मयङ्क गुप्ताले एड्ससम्बन्धी गलत धारणाहरू हटाउँदै सुरक्षित यौन स्वास्थ्यबारे सचेतना फैलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य सहभागीहरूले कार्यक्रमलाई उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
