आज:  | Tue, 21, Apr, 2026

HPV खोप अभियानमा गम्भीर लापरवाही, वीरगन्जमा खोप कार्यक्रम स्थगित

Avatar photo दिशा निर्देश २८ माघ २०८१, सोमबार १९:३२ मा प्रकाशित (१ साल अघि)

वीरगन्ज, माघ २८ – राष्ट्रिय स्तरमा सञ्चालन भइरहेको HPV खोप कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवामा गम्भीर लापरवाही देखिएपछि सो विद्यालयमा खोप कार्यक्रम तत्काल स्थगन गरिएको छ।
स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले खोप व्यवस्थापनमा गम्भीर लापरवाही भएको निष्कर्ष निकाल्दै यस्तो लापरवाही स्वीकार्य नहुने स्पष्ट गर्नुभएको छ। उहाँले स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै पनि प्रकारको हेलचक्र्याइँ हुन नहुने उल्लेख गर्दै सम्बन्धित निकायलाई तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिनुभएको छ।

अनुगमन टोलीले विद्यालयमा खोप कार्यक्रम सञ्चालनको अवस्थाबारे निरीक्षण गर्दा व्यवस्थापनमा गम्भीर कमजोरीहरू देखिएको थियो। सीडीओ अर्यालका अनुसार, खोप केन्द्रको सरसफाइ अत्यन्तै कमजोर रहेको, स्वास्थ्यकर्मीहरूले आवश्यक पोशाक प्रयोग नगरेको, खोप लगाइसकेपछि किशोरीहरूलाई आवश्यक परामर्श तथा आरामको व्यवस्था नगरेको पाइयो।
सीडीओ अर्यालले भन्नुभयो, “खोप अभियान सफल बनाउन स्वास्थ्य मापदण्डको पालना अत्यावश्यक छ। तर विद्यालयमा गरिएको कार्यक्रम हेर्दा खोप व्यवस्थापनमा गम्भीर लापरवाही देखियो। खोप लगाउने स्थानमा सरसफाइको अभाव मात्र होइन, खोप लगाउने सिरिन्जहरू समेत भुइँमा राखिएको पाइयो। खोपपछि किशोरीहरूलाई कुनै जानकारी वा परामर्श नदिइकनै पठाइएको थियो, जुन अत्यन्तै गम्भीर विषय हो।”


उहाँका अनुसार, खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूको उपस्थिति, उचित उपकरणको उपलब्धता, स्वयंसेवकहरूको व्यवस्थापन तथा खोपपछि आवश्यक परामर्श दिने कार्य अनिवार्य हुन्छ। तर, निरीक्षणका क्रममा यी आधारभूत कुराहरूमा नै गम्भीर लापरवाही देखिएको थियो।

सीडीओ अर्यालका अनुसार, विद्यालयमा खोप लगाइएका किशोरीहरूको नाम दर्तामा अनियमितता पाइयो।
उहाँले थप्नुभयो, “खोप अभियान अन्तर्गत किशोरीहरूलाई खोपको महत्व, प्रयोग र आवश्यकताबारे जानकारी दिन जरुरी छ। तर, अनुगमनका क्रममा किशोरीहरू खोप किन दिइएको छ भन्नेबारे नै अनभिज्ञ देखिए। यो अत्यन्तै चिन्ताजनक अवस्था हो।”
त्यस्तै, खोप केन्द्रमा खोपपछि आराम गर्ने उचित व्यवस्था नभएको, स्वास्थ्यकर्मीहरूले पोशाक नलगाएको, आवश्यक उपकरणहरू जस्तै Icepack, Cotton, Needle तथा AEFI Kits को व्यवस्थापन कमजोर रहेको, खोप केन्द्रमा सूचना सम्प्रेषणका लागि जनशक्ति तथा सामग्रीको अभाव रहेको, स्वयंसेवकहरूको उचित व्यवस्था नगरिएको जस्ता गम्भीर लापरवाहीहरू भेटिएका थिए।

जिल्ला प्रशासन कार्यालय, पर्साले स्वास्थ्य कार्यालय तथा वीरगन्ज महानगरपालिकालाई खोप कार्यक्रम व्यवस्थित गर्न निर्देशन दिएको छ।
सीडीओ अर्यालले चेतावनी दिँदै भन्नुभयो, “यस्ता लापरवाही अब सह्य हुने छैनन्। खोप अभियानलाई प्रभावकारी बनाउन सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्नुपर्छ। आगामी दिनमा यस्ता कमजोरीहरू दोहोरिएमा कडा कारबाही गरिनेछ।”

उहाँले स्वास्थ्य कार्यालय पर्सालाई पनि खोप कार्यक्रम सञ्चालन गर्नुअघि पूर्वतयारी, व्यवस्थापन, स्वास्थ्य मापदण्डको पालनामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ।

जिल्ला प्रशासन कार्यालयले अब प्रत्येक खोप केन्द्रमा कडाइका साथ अनुगमन गर्ने जनाएको छ। यस क्रममा स्वास्थ्य कार्यालय, स्थानीय निकाय, तथा खोप अभियानमा संलग्न सबै पक्षले आवश्यक सावधानी अपनाउनुपर्नेछ।
सरकारले खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आवश्यक सुधारको लागि तदारुकता देखाउनुपर्ने आवश्यकता रहेको बताइएको छ।
खोप अभियान जस्तो संवेदनशील विषयमा हेलचक्र्याइँ हुनु गम्भीर विषय हो। सुरक्षित खोप कार्यक्रम सञ्चालन गर्न प्रशासनले अब कडा निगरानी गर्ने बताएको छ। अभिभावक तथा नागरिकहरूलाई पनि खोप केन्द्रमा व्यवस्था कस्तो छ भन्नेबारे चासो राख्न आग्रह गरिएको छ।


सम्बन्धित खबरहरु