आज:  | Tue, 21, Apr, 2026

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने

Avatar photo दिशा निर्देश २७ माघ २०८१, आईतवार १४:३८ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज । चलचित्र विकास बोर्डले आगामी फागुन १३, १४ र १५ गते मधेश प्रदेशको जनकपुरमा पटकथा लेखन सम्बन्धी तीन दिने तालिम सञ्चालन गर्ने भएको छ। यस तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाहरूको सहभागिता रहनेछ।

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चलचित्र विकास बोर्डले चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार यस तालिमको आयोजना गर्दैछ। तालिममा सहभागी हुन चाहने व्यक्तिहरूले आवेदन फारम बोर्डको वेबसाइट www.film.gov.np बाट डाउनलोड गरी fdbworkshop2024@gmail.com इमेलमा पठाउनुपर्नेछ। आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्रका लागि तोकिएको छ।

प्रशिक्षार्थी छनोटका लागि निम्न शर्तहरू लागु हुनेछन्:

  1. यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले मधेश प्रदेशमा बसोबास गर्नुपर्नेछ र चलचित्र क्षेत्रप्रति रुचि भएका १८ देखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकहरूलाई सहभागी गराइनेछ।
  2. सहभागीहरूले कम्तीमा एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ।
  3. समावेशी सिद्धान्तका आधारमा मधेशका ८ वटै जिल्लाबाट प्रशिक्षार्थीहरू छनोट गरिनेछन्।
  4. चलचित्र क्षेत्रमा कार्यरत वा सिर्जनात्मक लेखनमा सक्रिय व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ।

यस तालिममा २० जना प्रशिक्षार्थीलाई छनोट गरिनेछ र प्रशिक्षार्थी छनोटका सम्बन्धमा बोर्डको निर्णय अन्तिम हुनेछ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो तालिम मधेशका युवाहरूलाई पटकथा लेखनका सैद्धान्तिक र व्यवहारिक पक्षमा दक्षता हासिल गर्न मद्दत पुर्याउनेछ। साथै, यस तालिमले मधेशको चलचित्र क्षेत्रलाई प्रगति र विकासको नयाँ मार्गमा लैजाने उद्देश्य राखेको छ।


सम्बन्धित खबरहरु