वीरगञ्ज, माघ २६ – नारायणी अस्पतालको बहुप्रतीक्षित ५०० शय्याको भवन निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन माग गर्दै वीरगञ्जका नागरिकहरूले दबाब र्यालीको आयोजना गरेका छन्।
शनिबार बिहान नारायणी अस्पतालबाट सुरु भएको र्यालीमा नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै सहभागीहरूले अस्पताल भवन निर्माण प्रक्रिया पाँच वर्षदेखि कानुनी विवादका कारण अलपत्र परेको भन्दै तत्काल समाधान गर्न सरकार र अदालतसँग माग गरे। उनीहरूले नारायणी अस्पतालमा पूर्वाधार अभावका कारण वीरगञ्ज मात्र नभई बारा, रौतहट, सर्लाही तथा भारतको बिहार र उत्तर प्रदेशका लाखौँ नागरिक स्वास्थ्य सेवा लिन कठिनाइ भोग्न बाध्य भएको भन्दै चाँडोभन्दा चाँडो समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराए।
र्यालीमा सहभागी वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले अस्पतालको स्तरोन्नति आगामी पुस्ताका लागि पनि महत्वपूर्ण रहेको बताए। उनले भने, “अस्पताल निर्माण हाम्रो लागि मात्र नभई हाम्रो सन्ततिका लागि पनि अपरिहार्य छ। यो अभियानमा म सधैं तपाईँहरूका साथमा छु।”
त्यस्तै, पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले नारायणी अस्पतालबाट पुस्तौंदेखि सेवा लिँदै आएको स्मरण गर्दै नागरिक समाजलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे। उनले सर्वोच्च अदालतले विचाराधीन मुद्दाको यथाशीघ्र छिनोफानो गरी निर्माण कार्य अगाडि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै, अदालत र सरकार यस विषयमा गम्भीर नभए नागरिक समाज अझ कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।
र्यालीमा सहभागीहरूले “अस्पताल निर्माणको प्रक्रिया तत्काल अघि बढाऊ”, “अदालतले मुद्दाको छिनोफानो चाँडो गर”, “सरकार गम्भीर बन” लगायत नारा लगाउँदै विरोध जनाए।
यसअघि, माघ १८ गते नारायणी अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले पनि अदालतलाई छिटो फैसला गर्न माग गर्दै सडकमा उत्रिएका थिए। त्यस क्रममा त्रिभुवन राजपथ अवरुद्ध पारिएको थियो भने शुक्रबार जनमत पार्टीले पनि घण्टाघर क्षेत्रमा चक्का जाम गर्दै अस्पताल निर्माणको विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो।
