काठमाडौं – चितवन रत्ननगर नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौंको कुलेश्वरमा बसोबास गर्ने अस्मिता आचार्य ‘हनीट्रयाप’ मा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। २८ वर्षीया आचार्यलाई ५० वर्षीय एक पुरुषलाई आर्थिक लाभको उद्देश्यले फसाएको अभियोगमा माघ २२ गते पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए।
प्रहरीका अनुसार करिब चार महिना अगाडि अस्मिता कुलेश्वरस्थित एक इलेक्ट्रोनिक्स मर्मत पसलमा गइन्। त्यहाँ उनले राइस कुकर मर्मत गराउने बहानामा पसल सञ्चालकसँग सम्पर्क बढाइन्। केही समयपछि उनले ऋण लिन सुरु गरिन्, जसअनुसार सुरुमा सानो रकम लिएर पछि दुई लाख रुपैयाँ मागिन्। जब पसल सञ्चालकले रकम दिन अस्वीकार गरे, अस्मिताले उनलाई ठमेलमा खाजा खान आग्रह गरिन्।
योजना अनुसार उनले पुरुषलाई सिनामंगलस्थित एक होटलमा जान प्रस्ताव गरिन्। जब दुबै जना होटलमा पुगे, अस्मिताले अचानक धम्की दिइन्— ‘यदि पैसा नदिए बलात्कारको उजुरी दिन्छु।’ सोही धम्की दिँदै उनले १० लाख रुपैयाँ माग गरिन्।
चार दिनसम्म पैसा नदिएपछि अस्मिताले मर्मतकर्ताको छोरालाई फेसबुक म्यासेन्जरमार्फत सन्देश पठाएर भनिन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरेका छन्, उजुरी दिन्छु।’ यस घटनाले मर्मतकर्ताको परिवारमा तनाव सिर्जना गर्यो। डरका कारण उनले १० लाख रुपैयाँ दिन राजी भए र तीन लाखको चेक प्रदान गर्दै बाँकी रकम एक हप्ताभित्र दिने सहमति गरे।
घटनाबारे जानकारी पाएपछि प्रहरीले अस्मितालाई तीन लाखको चेक लिएको अवस्थामा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए।
प्रारम्भिक अनुसन्धान अनुसार अस्मिताले अस्ट्रेलिया जान आर्थिक जोहो गर्ने उद्देश्यले हनीट्रयापको योजना बनाएको खुलासा भएको छ। प्रहरीसँगको बयानमा उनले भनेकी छन्, ‘श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ, म पनि जाने तयारीमा थिएँ, तर पैसाको अभाव थियो।’
बिबिएसम्मको अध्ययन गरेकी अस्मिताविरुद्ध प्रहरीले अदालतबाट ‘आपराधिक लाभ लिन नहुने कसुर’ अन्तर्गत अनुसन्धानको म्याद लिएको छ।
