आज:  | Sat, 08, Feb, 2025

अखिल क्रान्तिकारीको केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा मिरोज अहमदको उम्मेदवारी दर्ता

Avatar photo दिशा निर्देश ८ माघ २०८१, मंगलवार २१:३९ मा प्रकाशित (२ हफ्ता अघि)
Share

अखिल क्रान्तिकारीको केन्द्रीय समितिद्वारा आयोजित २३औँ राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनको तयारी भइरहेका बेला मिरोज अहमदले केन्द्रिय सचिव (मुस्लिम) पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। उनले अनलाइन माध्यममार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

मिरोज अहमदले उम्मेदवारी घोषणा गर्दै मुलुकमा सामाजिक न्याय, समानता, र समृद्धिका लागि विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो उम्मेदवारी मुस्लिम समुदायको हकहित सुनिश्चित गर्ने तथा संगठनलाई थप बलियो बनाउने उद्देश्यले अघि सारेको बताएका छन्।

यस सम्मेलनमा देशभरका प्रतिनिधिहरूको उपस्थिति रहेको छ। अखिल क्रान्तिकारीले देशभरका विद्यार्थीहरूको समस्या, अधिकार र संघर्षलाई मुख्य एजेण्डा बनाउँदै सम्मेलनलाई सुसूचित बनाउने लक्ष्य राखेको छ।

अहमदले उम्मेदवारीको औपचारिक घोषणा गरेपछि उनले समाजमा मुस्लिम समुदायका विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै उनीहरूको आवाज बुलन्द गर्न आफूले नेतृत्व गर्न चाहेको बताए। उनले भने, “यो मेरो व्यक्तिगत चाहना मात्रै नभई सबै मुस्लिम विद्यार्थीको आकांक्षा हो। संगठनलाई सबै वर्ग, समुदाय, र क्षेत्रका विद्यार्थीहरूका लागि अझ समावेशी र प्रभावकारी बनाउन म काम गर्नेछु।”

सम्मेलनका क्रममा विभिन्न पदहरूका लागि प्रतिस्पर्धा हुन लागेका छन्। विद्यार्थी नेताहरूले यस सम्मेलनलाई संगठनको आगामी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएका छन्।

मिरोज अहमदको उम्मेदवारीले सम्मेलनलाई थप रोचक बनाएको छ भने यसले मुस्लिम समुदायमा नयाँ जोश र जागरण थप्ने अपेक्षा गरिएको छ।


सम्बन्धित खबरहरु