काठमाडौं – अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा मिरोज अहमदले केन्द्रीय सचिव (मुस्लिम) पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि विद्यार्थी राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहेका अहमदले संगठनलाई प्रगतिशील विचार र नयाँ प्रविधियुक्त प्रणालीबाट अघि बढाउन योजना प्रस्तुत गरेका छन्।
उनले शिक्षालाई उत्पादनशील क्षेत्रसँग जोड्दै शिक्षाका माध्यमबाट उद्योग र रोजगार सिर्जना गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अहमदले भने, “शिक्षा, स्वास्थ्य, र रोजगारजस्ता संविधानप्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयन गराउन मैले पहल गर्नेछु।”
उनले संगठनभित्र उच्च प्रविधियुक्त प्रणालीको विकासमार्फत संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनका अनुसार विद्यार्थीहरुलाई अधिकारप्राप्ति, आत्मनिर्भरता, र नेतृत्वदायी भूमिकामा अघि बढाउन संगठनको नीतिलाई समावेशी र प्रगतिशील बनाउनु आवश्यक छ।
अहमदले राष्ट्रिय सम्मेलनलाई अवसरका रूपमा लिएर सबै विद्यार्थीहरुलाई एकीकृत गर्दै सकारात्मक सोचको विकास गर्न र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा विशेष प्राथमिकता दिन आफू प्रतिबद्ध रहेको बताए।
उनले अघि थपे, “राजनीतिलाई केवल विवाद र आन्दोलनमा सीमित नराखी, युवाहरुको क्षमता विकासमा केन्द्रित गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, र रोजगारीमा सुधारका लागि हामी दृढ संकल्पित छौं।”
अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनले युवा नेतृत्वलाई अगाडि बढाउने अवसर दिने र विद्यार्थी राजनीतिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। मिरोज अहमदको उम्मेदवारी यस दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
