३ माघ, काठमाडौं।१५ महिनाको अवधिमा ४६ हजारभन्दा बढीको मृत्यु भएपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन्। ६ साता लामो यो युद्धविराम सम्झौता आगामी आइतबारदेखि लागू हुनेछ।
सम्झौता कार्यान्वयनपछि लाखौं विस्थापित गाजावासीलाई घर फर्कने अवसर प्राप्त हुनेछ भने बन्धकहरूको रिहाइ सुनिश्चित हुनेछ। सम्झौताअनुसार पहिलो चरणमा केही इजरायली बन्धकलाई रिहा गरिनेछ, त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरूलाई रिहा गर्नेछ। साथै, इजरायली सेना युद्ध क्षेत्रबाट फिर्ता हुने छ। युद्धविराम लागू भइसकेपछि पनि यसको प्रभावकारी कार्यान्वयनका लागि वार्ता जारी रहनेछ।
युद्धविरामको यो निर्णय इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरूको विरोधका बीचमा भएको हो। तर, संयुक्त राष्ट्रसंघ, अमेरिका, कतार, इजिप्टलगायतका देशहरूले यस निर्णयको स्वागत गरेका छन्।
इजरायल र हमासबीच ७ अक्टोबर २०२३ मा युद्ध सुरु भएको थियो। हमास लडाकुहरूले गाजा क्षेत्रबाट इजरायल प्रवेश गरी आक्रमण गर्दा १० नेपाली विद्यार्थीसमेत गरी १,२०० जनाको ज्यान गएको थियो। नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक बनाइएको थियो।
त्यसपछि इजरायलले जवाफी कारबाही थालेको थियो। हवाई र स्थल दुवैतर्फका कारबाहीमा ४६ हजार व्यक्तिको मृत्यु भएको छ।
यो युद्धविरामले दुवै पक्षका बन्धकहरूको रिहाइ र लाखौं विस्थापित गाजावासीलाई आफ्नो घर फर्कने अवसर प्रदान गर्ने भएकाले यो सम्झौताले विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
