आज:  | Tue, 21, Apr, 2026

पत्रकार पंकज श्रेष्ठलाई स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने

Avatar photo दिशा निर्देश २८ पुष २०८१, आईतवार २१:१८ मा प्रकाशित (१ साल अघि)

अब्दुल कलाम हुसेन/वीरगञ्ज, २८ पुस: यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ पर्सा शाखाको आइतबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालका अनुसार श्रेष्ठ नेपाल प्रेस युनियनका साधारण सदस्य पनि हुन्। महासंघका सचिव विजय चौहानले माघ १ गते औपचारिक कार्यक्रमको बीचमा श्रेष्ठलाई पुरस्कार प्रदान गरिने जानकारी दिए।

गोपाल गिरीको सम्झनामा स्थापना गरिएको यो पुरस्कार नेपाल पत्रकार महासंघ पर्सा शाखाले हरेक वर्ष प्रदान गर्दै आएको छ। स्वर्गीय गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष थिए। २०६० साल माघ १ गते तत्कालीन माओवादीले गिरीको हत्या गरेको थियो। गिरीको परिवारसँगको सहकार्यमा स्थापना भएको यो पुरस्कारको राशी हाल ५१ हजार रुपैयाँ छ।

यो पुरस्कारबाट यसअघि बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव सम्मानित भइसकेका छन्।

साथै, पर्साका पत्रकारहरूले समाचार लेख्दा कानुनी समस्या भोग्नु परेको अवस्थालाई ध्यानमा राख्दै, नेपाल पत्रकार महासंघ पर्सा र नेपाल बार एसोसिएसन पर्सा शाखाबीच कानुनी सहजीकरणका लागि सम्झौता गर्ने निर्णयसमेत बैठकले गरेको छ।

 


सम्बन्धित खबरहरु