पर्सा, पकाहामैनपुर : सीमावासी नागरिकहरूसँग सम्बन्ध सुमधुर बनाउँदै सेवामुखी कार्य गर्न प्रतिवद्ध सशस्त्र प्रहरी बल, नेपालले एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। पकाहामैनपुर गाउँपालिका–३ स्थित श्री राम चरित्र भगवत माध्यमिक विद्यालयमा आयोजित यस शिविरमा ५३० जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा पकाहामैनपुर गाउँपालिका, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, रोहित फाउण्डेशन, क्वेस्ट फर्माक्युटिकल्स, र वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहकार्यमा शिविर सम्पन्न भएको हो। Border Area Development Program (BADP) र Quick Impact Project (QIP) अन्तर्गत सीमावासीलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
शिविरको उद्घाटन समारोहमा पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभाग पर्साका उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्साल, प्रभु अस्पतालका अध्यक्ष डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, अस्पताल व्यवस्थापक दिलिपराज कार्की, र वीरगञ्ज सामुदायिक आँखा केन्द्रका मेडिकल निर्देशक महेश सिंह धामीलगायतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले शिविरमा सहभागी सबैलाई स्वागत गर्दै सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी भएको बताउनुभयो। उहाँले भविष्यमा पनि यस्ता सेवामुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले सशस्त्र प्रहरीद्वारा सञ्चालन गरिएको शिविरले स्थानीय जनतालाई प्रत्यक्ष रूपमा लाभान्वित गरेकोमा आभार व्यक्त गर्नुभयो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरीको सेवामुखी प्रयासको प्रशंसा गर्दै यस प्रकारका कार्यक्रमलाई सहकार्य र सहयोग गर्न तयार रहेको बताउनुभयो।
शिविरमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, हाडजोर्नी तथा आँखा सम्बन्धी परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। २७० महिला र २६० पुरुष गरी कुल ५३० जनाले शिविरबाट लाभ लिएका थिए।
सशस्त्र प्रहरी बलले सीमावासीलाई लक्षित गर्दै यस्ता कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच पुर्याउने मात्र नभई आपसी सम्बन्धलाई पनि थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।
