आन्तरिक डिजाइनरहरूको पेशागत संस्था इन्टेरियर डिजाइनर्स एसोसियेशन अफ नेपाल (आइडिया नेपाल) को २१औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। साधारण सभाको अध्यक्षता आइडिया नेपालका अध्यक्ष श्याम बहादुर श्रेष्ठले गरेका थिए भने उद्घाटन सत्रको उद्घाटन संस्थापक अध्यक्ष तथा सल्लाहकार प्राध्यापक डा. मधुरा कार्कीले गर्नुभयो।
ललितपुरको पुल्चोकस्थित कार्यक्रम स्थलमा बोल्दै प्राध्यापक डा. कार्कीले नेपालमा आन्तरिक डिजाइन क्षेत्रले उच्च गति लिइरहेको र नेपाली डिजाइनरहरूले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउन सक्ने क्षमताको विकास भइरहेकोमा खुशी व्यक्त गरिन्। उनले भनिन्, “नेपालमा आन्तरिक डिजाइनको महत्त्व दिनानुदिन बढ्दै गएको छ र यस क्षेत्रका डिजाइनरहरूले अब अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्षम हुँदै गएका छन्। आइडिया नेपालको नेतृत्वले नेपाललाई आन्तरिक डिजाइनको विश्व मानचित्रमा स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।”
साधारण सभामा आइडिया नेपालका पूर्व अध्यक्ष र सल्लाहकार शानु राजा शिल्पकार, निवर्तमान अध्यक्ष र सल्लाहकार विन्द्रा कछिपटि प्रधान लगायत एक सयभन्दा बढी आन्तरिक डिजाइनरहरूको उत्साहजनक उपस्थिति थियो।
महासचिव रामगोपाल टण्डुकारले विगत दुई वर्षका प्रमुख गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उपलब्धि र आगामी योजनाबारे जानकारी गराए। प्रतिवेदनमा उल्लेख गरिएको छ कि आइडिया नेपालले २० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरेको छ, सदस्यहरूको क्षमता वृद्धि गर्न कार्यशाला र तालिम सञ्चालन गरेको छ, सदस्य संख्यामा १५ प्रतिशत वृद्धि भएको छ र क्षेत्रीय शाखा स्थापना गर्ने प्रयास भइरहेको छ। यसका अतिरिक्त, संस्थाले प्रमुख प्रदर्शनीहरूमा भाग लिएको र आगामी दिनमा नयाँ प्रविधि र उत्पादनको प्रवर्द्धन गर्ने योजना बनाएको महासचिव टण्डुकारले जानकारी दिनुभयो।
साधारण सभाको बन्द सत्रमा कोषाध्यक्ष सुशिल शिवाकोटीले लेखा परीक्षणको आधारमा तयार पारिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साथै, कार्यक्रममा आन्तरिक डिजाइन क्षेत्रमा भएका नवप्रवर्तन, चुनौती र सम्भावनाबारे गहन छलफल पनि गरिएको थियो। यस अवसरमा छ जना नयाँ आजीवन सदस्य र १२ जना उपसमितिलाई प्रमाणपत्र पनि प्रदान गरिएको जानकारी आजीवन सदस्य सुशोभित रन्जितकारले दिए।
कार्यक्रमको अन्त्यमा महासचिव रामगोपाल टण्डुकारले सम्मेलनलाई सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए। उनले भने, “तपाईंहरूको निरन्तर समर्थन र सक्रिय सहभागिताले हामीलाई हाम्रो लक्ष्यहरू पूरा गर्न मद्दत पुर्याएको छ। आगामी दिनमा हामी सबै मिलेर संस्थालाई अझ सशक्त बनाउने दिशामा काम गर्नेछौं।”
कार्यक्रमको सहजीकरण महासचिव रामगोपाल टण्डुकार र अमृता श्रेष्ठले गरेका थिए भने संस्थाकी उपाध्यक्ष उषा रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।